गोकुल देवकोटा।
कालिकोट । मानिसको जीवन सधैँ एउटै बाटोमा हिँड्दैन। कसैको जीवन फूलैफूलले सजिएको हुन्छ भने कसैको जीवन काँडाबीचको यात्राजस्तै हुन्छ। जीवन त्यस्तै संघर्ष, पीडा, अभाव र आशाले भरिएको यात्रा हो। आज अकल जहाँ छन, त्यो कुनै चमत्कारको परिणाम होइन, बरु वर्षौँको दुःख, मेहनत, त्याग र धैर्यताको प्रतिफल हो।


यस्तै एउटा संघर्षको पर्यावाचि हुन – अकल पाण्डे । कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका ३ मा रहेको एउटा सामान्य परिवारमा जन्मिएको हुन। उनको परिवार आर्थिक रूपमा निकै कमजोर थियो। घरमा आम्दानीको भरपर्दो स्रोत थिएन। बिहान के खाने र बेलुका के खाने भन्ने चिन्ताले परिवारलाई सधैँ सताइरहन्थ्यो। बाल्यकालका धेरै दिन मैले अभाव र दुःखमै बिताएँ। विद्यालय जाँदा अरू साथीहरूका जस्ता राम्रो कपडा, झोला वा आवश्यक सामग्री उनि सँग हुँदैनथे। तर अभावका बीचमा पनि मनमा एउटा ठूलो सपना थियो। पढेर केही बन्ने, परिवारको दुःख हटाउने र समाजमा सम्मानित जीवन जिउने।
बाल्यकालदेखि नै उनले बुझ्न थालेको थिएँ कि गरिबी आफैँमा अपराध होइन, तर गरिबीबाट माथि उठ्न संघर्ष नगर्नु भने कमजोरी हो। त्यसैले उनले कहिल्यै आफ्नो परिस्थितिलाई दोष दिएर बसिनँ। बरु आफूलाई अझ मेहनती बनाउने प्रयास गरिरहे।
उनि भन्छन – “जीवनले मलाई धेरै छिट्टै कठोर परीक्षा लिन थाल्यो। मैले सबैभन्दा ठूलो पीडा त्यसबेला भोगेँ, जब मेरा बुवाको निधन भयो। त्यो दिन मेरो जीवनको सबैभन्दा दुःखद दिन थियो। बुवाको निधनसँगै हाम्रो परिवारको एउटा बलियो सहारा टुटेको थियो। घरको जिम्मेवारी झन् बढ्दै गयो। परिवारमा जन्म दिने आमा हुनुहुन्थ्यो, कर्म दिने आमा हुनुहुन्थ्यो, श्रीमती थिइन् र सानो छोरा पनि थियो। सबैको आशा ममाथि थियो। तर त्यो आशा पूरा गर्ने सामर्थ्य मसँग थिएन। आर्थिक अवस्था झन् कमजोर बन्दै गएको थियो। कतिपय रातहरू यस्ता पनि आए, जब भविष्य सम्झेर निदाउन सक्दिनथेँ। घरको अवस्था देख्दा मन रोइरहन्थ्यो। तर आँसु बगाएर मात्र समस्या समाधान हुँदैन भन्ने कुरा मैले बुझिसकेको थिएँ। त्यसैले मैले संघर्षलाई नै आफ्नो साथी बनाएँ। पढाइलाई निरन्तरता दिन म गाउँबाट सुर्खेत पुगेँ। वीरेन्द्रनगरमा एउटा सानो कोठा भाडामा लिएर बस्न थालेँ। त्यहाँ मेरो जीवन झन् कठिन भयो। घरबाट पैसा आउँदैनथ्यो। कहिलेकाहीँ खाना खाने पैसा नहुँदा भोकै सुत्नुपर्थ्यो। किताब किन्नुपर्ने बेला हात खाली हुन्थ्यो। कोठा भाडा तिर्ने समय आउँदा चिन्ताले सताउँथ्यो। तर मसँग एउटा कुरा थियो, जुन अभावले पनि खोस्न सकेन । मेरो सपना। म Public Academy Secondary School मा अध्ययन गर्दै थिएँ। साथीहरू रमाइलो र मनोरञ्जनमा व्यस्त हुँदा म भने आफ्नो भविष्यको चिन्तामा किताबसँग संघर्ष गरिरहेको हुन्थेँ। म जान्दथेँ, मेरो सफलताको बाटो सजिलो छैन। त्यसैले मैले समयलाई खेलाँची गर्न सक्दिनथेँ। मेरो पढाइका लागि मेरी कर्म दिने आमाले गर्नुभएको त्याग म शब्दमा वर्णन गर्न सक्दिनँ। उहाँले गाउँका मानिसहरूसँग ऋण सापटी माग्नुभयो। कसैबाट पाँच सय, कसैबाट एक हजार, कसैबाट सकेजति सहयोग जुटाउनुभयो। आफूले दुःख सहेर भए पनि मेरो पढाइ रोक्न दिनुभएन। आज पनि उहाँको त्यो माया र त्याग सम्झँदा मेरा आँखा रसाउँछन्। संसारमा आमाभन्दा ठूलो प्रेरणा सायद अरू कोही हुँदैन। +२ पूरा गरेपछि मेरो लक्ष्य स्पष्ट थियो-कानुन पढ्ने। म न्याय, अधिकार र कानुनको क्षेत्रमा केही गर्ने सपना देखिरहेको थिएँ। त्यसका लागि मैले प्रवेश परीक्षाको तयारी सुरु गरेँ। दिनरात मेहनत गरेँ। आफूले सकेको सबै प्रयास गरेँ। तर जब नतिजा आयो, मेरो नाम सफल सूचीमा थिएन।’
त्यो क्षण उनको जीवनको अर्को ठूलो झट्का थियो। उनले आफूलाई असफल महसुस गरेँ। परिवारको आशा, आमाको त्याग, आफ्ना सपनाहरू सबै एकैपटक आँखाअघि घुम्न थाले। धेरै रातहरू म चुपचाप रोए। तर उनले एउटा कुरा बुझिसकेको थिए कि असफलता अन्त्य होइन, नयाँ सुरुवातको संकेत हो। त्यसपछि उनले आफूलाई फेरि सम्हालेँ। आँसु पुछेँ। फेरि किताब समातेँ। फेरि मेहनत गर्न थालेँ। उनले आफूलाई सधैँ एउटै कुरा सम्झाइरहेँ-“संघर्ष गर्ने मानिस कहिल्यै हार्दैन।”
उनले थपे -“मैले फेरि सुदूरपश्चिम विश्वविद्यालयको BALLB प्रवेश परीक्षाका लागि आवेदन दिएँ। यसपटक मेरो मेहनत झन् बढ्यो। रातभर जाग्राम बसेर पढेँ। पीडालाई शक्तिमा परिवर्तन गरेँ। थकानलाई प्रेरणामा बदलेँ। अनि अन्ततः त्यो दिन आयो, जसको प्रतीक्षा मैले वर्षौँदेखि गरिरहेको थिएँ। नतिजा प्रकाशित भयो। मेरो नाम सफल सूचीमा मात्र थिएन, मैले दोस्रो स्थान हासिल गरेको थिएँ। त्यो क्षण म शब्दविहीन भएँ। मेरो आँखाबाट आँसु झरिरहेका थिए, तर ती दुःखका आँसु थिएनन्। ती खुसीका आँसु थिए। ती संघर्षको जितका आँसु थिए। त्यो मेरो मात्र सफलता थिएन। त्यो मेरी आमाको त्यागको जीत थियो। त्यो मेरो परिवारको विश्वासको जीत थियो। त्यो गरिबीमाथिको विजय थियो। आज मैले कानुन विषयमा BALLB अध्ययन सफलतापूर्वक पूरा गरेको छु। यो उपलब्धि केवल एउटा प्रमाणपत्र प्राप्त गर्नु मात्र होइन, यो वर्षौँको संघर्ष, दुःख, भोक, आँसु र आशाको परिणाम हो। आज पनि मेरो परिवारका सबै समस्या समाप्त भएका छैनन्। घरमा ऋण अझै बाँकी छ। संघर्ष अझै जारी छ। तर अब मेरो मनमा निराशा छैन। किनकि मैले जीवनबाट एउटा अमूल्य पाठ सिकेको छु- कुनै पनि सपना ठूलो हुँदैन, यदि त्यसका लागि निरन्तर संघर्ष गर्ने साहस छ भने। म आफ्नो जीवनको यात्रालाई फर्केर हेर्दा गर्व महसुस गर्छु। किनकि मैले हारको अगाडि घुँडा टेकिनँ। अभावले मेरो सपना मार्न सकेन। परिस्थितिले मेरो आत्मविश्वास तोड्न सकेन।”
यदि उनको कथा पढेर कुनै एक युवाले पनि आफ्नो सपना त्याग्ने निर्णय बदल्छ भने, उनको संघर्ष सफल भएको ठान्दछन। किनकि जीवनमा जति ठूलो दुःख आए पनि आशा कहिल्यै मर्नु हुँदैन। उनलाई लाग्छ । उनको परिचय गरिबी होइन संघर्ष हो। परिचय हार होइन, परिचय निरन्तर प्रयास हो। र उनको परिचय एउटा यस्तो सपना हो, जसले हजारौँ पीडाबीच पनि बाँच्न सिकायो।









