कमल कोपिला
२१ जेठ २०८३ कालिकोट । आईएनएफ नेपाल कालिकोट शाखाको सहजीकरण तथा नरहरिनाथ गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखासँगको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र निर्णय तहमा उनीहरूको पहुँच विस्तार गर्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग बैठक सम्पन्न भएको छ।
बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सहभागिता, सशक्तिकरण तथा जीविकोपार्जनका अवसरहरू वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तथा आयआर्जनमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।


छलफलका क्रममा अपाङ्गता सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, आगामी आर्थिक वर्षको बजेटमा यस्ता कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणका लागि स्थानीय तहले विशेष प्राथमिकता दिनुपर्ने विषयमा सहमति भएको छ।
त्यसैगरी, नरहरिनाथ गाउँपालिकाभित्र आगामी दिनमा निर्माण हुने सरकारी तथा सार्वजनिक संरचनाहरूलाई अपाङ्गता मैत्री बनाउने र त्यसका लागि गाउँपालिकाले आवश्यक नीति तथा सहजीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ। बैठकमा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा समावेश गर्दै उनीहरूको सम्मानजनक जीवनयापन, अवसरमा समान पहुँच तथा निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
सो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सो कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, आईएनएफ कालिकोटका संयोजक दल बुढा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा नरहरिनाथका प्रमुख सरिता बिष्ट, अपांगता भएका व्यक्तिहरु लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।









