कमल कोपिला
२८ जेष्ठ २०८३ कालिकोट । मंगलबारदेखि लगातार परेको अविरल वर्षाका कारण नरहरिनाथ गाउँपालिकामा जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको पहिरो र बाढीका कारण गाउँपालिकाका विभिन्न वडाका बाटो तथा सडक अवरुद्ध हुनुका साथै खेतीयोग्य जमिन, खानेपानी आयोजना तथा स्थानीय संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।


गाउँपालिकाका अनुसार, लगातारको वर्षाले विशेषगरी ग्रामीण सडकहरू हिलाम्मे र अवरुद्ध बनेका छन् । कतिपय स्थानमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ । र अहिले गाउँपालिकाको डोजर गएर बनाउने काम भईरहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष कटक बहादुर बुढाले बताउनुभयो ।
यस्तै, खोलानालामा पानी बढेपछि आसपासका बस्ती जोखिममा परेका छन् । केही स्थानमा खेतबारी कटान हुँदा किसानहरू चिन्तित बनेका छन् । वर्षाका कारण विद्युत् तथा सञ्चार सेवा समेत प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।
गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । साथै सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्थानीय तहको टोली परिचालन गरिने पनि बताईएको छ । अविरल वर्षा जारी रहन सक्ने भएकाले थप क्षति हुन सक्ने भन्दै स्थानीय प्रशासनले अनावश्यक यात्रा नगर्न तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।
वडा नं १ कोटवाडाः
नरहरिनाथ गाउँपालिकाको वडा नं १ मा २ दिन परेको अविरल वर्षाका कारण ठुलो क्षति भएको वडाध्यक्ष जगत बहादुर बिष्टले जानकारि दिनुभयो । वडा नं १ मा बिशेषगरि मकैबालि असिनापानिले सखाप पारेको छ भने निलाखामा १, चुल्ठिडाँडामा १ र गणेशपुरमा केहि घर जोखिममा रहेका बताउनुभयो ।
वडा नं २ कोटवाडाः
वडा नं २ का अध्यक्ष प्रेम बिष्टका अनुसार, वडा नं २ मा श्री सरस्वति आवि ओडगाउँको विधालयको खेलमैदान भत्किएको छ । चौथिकोट आविमा भवनको छाना उडाएको छ ।विर्धार्थिलाई अध्ययन अध्यापन गर्न कठिन भएको छ ।अमनेपानि र चौथिकोटको खानेपानि पहिरोका कारण अवरुद्द भएको छ । त्यस्तै खेत रोप्नका लागि राखिएका बेराटा पनि बढिले छापिएको र मकैबालि तथा अन्य तरकारि बारिहरु पनि अविरल वर्षाका कारण नस्ट भएको छन ।
वडा नं ३ कुमालगाउँ
नरहरिनाथको मुख्य सडक खण्डको विभिन्न ठाउँमा बाढिका कारण बिग्रिएको छन भने मकैबालि लगायत तरकारि नस्ट हुनुका साथै बिउँबेराटाहरुमा पनि पुर्णरुपमा क्षति हुन पुगेको वडाध्यक्ष कटक बहादुर बुढाले बताउनुभयो । साथै, वडा नं ३ का विभिन्न टोलहरुका १ दर्जन बढि घरहरु पनि जोखिममा रहेका बताउनुभयो ।
वडा नं ४ र ५ रुप्साः
नरहरिनाथका अन्य वडा भन्दा यसपटक रुप्सामा कम क्षति भएको वडा नं ४ का वडाध्यक्ष नन्दराम सहकारिले जानकारि दिनुभयो । वडा नं ४ मा पर्ने नयाँ बस्ति सुन्दरखालमा मात्र केहि घरहरुका हावाहुरिले गर्दा छानो उडाएको बताउनुभयो । वडा नं ५ मा भने २०८१ साल असार ३० गते परेको अविरल वर्षाका कारण काले खोलामा अहिलेपनि निरन्तर पहिरो बगिरहेको छ । वडा नं ५ का वडाध्यक्ष मान बहादुर सहकारिले यसपटक हावाहुरि र वर्षाले खासै असर नगरेको तर कालेखोलामा बगिरहेको नियमित पहिरोले भने अहिले पनि निन्द्रा लगिरहेको पिडा पोख्नुभयो । उहाँले संघ र प्रदेश सरकारसँग पहिरो नियन्त्रणका लागि पटक-पटक पहल गरेको तर सुनुवाई नै नहुने गरेको बताउनुभयो ।
वडा नं ६ र ७ मालकोटः
नरहरिनाथकै सबैभन्दा बढि क्षति भएको क्षेत्र मालकोट बनेको छ । मालकोटमा ४ वटा घरहरुको छानो उडाएको छ भने धेरै घरहरु जोखिममा रहेको वडा नं ६ का वडाध्यक्ष पौराम कामिले बताउनुभयो । कंशे दमाईको चाफाको घर, सेतिखेतका भद्दे बिकको घर र राईटाका जया बिकको पसल लगायत धेरै घरहरुको छानो उडाएको बताईएको छ । वडाध्यक्षका अनुसार, मकैबालि लगायत बालिनालि पुर्णरुपमा नस्ट भएको छ । सिमखेतदेखि लामाराईटा, धाँचु हुदै ७ नं वडा कार्यालय सम्मको सडक खण्डमा धेरै ठाउँमा सडक नै चिरिएको छ । त्यस्तै, लाम्रिखोलादेखि थाडुमाडू हुदै उच्छव, दुदुल्लि सम्म जाने सडकमा पिसिसि गरेको नालाको भाग सबै बगाएर लगेको छ । नन्दादेवि मावि सेरापाटाको निर्माणाधिन ३ करोड लागतको ८ कोठे भवनमा पनि ठुलो क्षति हुन पुगेको छ । वडा नं ७ मा रहेको स्वास्थ्य चौकि उच्छवमा पनि क्षति भएको बताईएको छ । यस्तै, वर्षाकै कारण नरहरिनाथ गाउँपालिका ६ र ७ माल्कोट क्षेत्रको सडकमा पहिरोको जोखिम बढेको छ। सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी परेका छन् भने केही ठाउँमा सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको पत्रकार धुर्व बोहोराले जानकारि दिनुभयो । सडक अवरुद्ध हुँदा दैनिक आवतजावतका साथै निर्माणाधीन सडक तथा भवन निर्माणका कामसमेत प्रभावित भएका छन्।
वडा नं ८ र ९ लालुः
वडा नं ८ लालुमा पनि धेरै क्षति भएको छ । स्वास्थ्य चौकि लालुको छाना उडाउनुको साथै वायरिङ लगायत पुर्ण रुपमा ध्वस्त भएको छ । त्यहाँ स्थित कार्यरत स्वास्थ्यकर्मिहरुलाई नियमित काम कारबाहिमा अवरोध हुन पुगेको वडाध्यक्ष लाल बहादुर बिष्टले जानकारि दिनुभयो । त्यस्तै, लालुमा रहेको मुख्य बाटो ठाडाबाटोमा ठुलो भल आउँदा आसपासका खेतियोग्य जमिन भासिएर लिनुको साथै पहिरोको जोखिम बढेको छ । मकै लगायत बालि नालि नस्ट भएको छ भने बिउका लागि राखिएको बेर्नाटोहरु ढलका कारण पुरिएका छन । बाटोघाटोहरु भत्किएका छन । खुलालुमा पनि पहिरोका कारण सवारि साधन आवतजावतमा समस्या भएको छ । वडा नं ९ मा भने पुर्ण रुपमा क्षति नभएपनि आंशिक क्षति हुन पुगेको वडाध्यक्ष प्रदिप बोहोराले बताउनुभयो ।
नरहरिनाथमा भारी वर्षा र असिनापानीका कारण ठूलो क्षति भएको हो । वर्षासँगै आएको असिनाले गाउँपालिकाका ९ वटै वडामा भौतिक पूर्वाधार तथा कृषि क्षेत्रमा नोक्सानी पुर्याएको स्थानीयले बताएका छन्।
विशेष गरी भर्खरै गोडमेल गरिएको मकैबाली, धान रोपिएका खेत तथा विभिन्न तरकारी बालीमा क्षति पुगेको छ। केही घण्टाको वर्षा र असिनाले किसानहरूको वर्षभरिको मेहनत प्रभावित बनेपछि स्थानीय किसानहरू चिन्तित भएका छन्।
स्थानीय बासिन्दाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सम्बन्धित सुरक्षा निकायलाई प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी आवश्यक पहल गर्न आग्रह गरेका छन्। वर्षाका कारण भएको क्षतिको विवरण संकलन तथा अवरुद्ध सडक खुलाउन नरहरिनाथ सरकारले थालिसकेको कार्यावाहक वडाध्यक्ष कटक बहादुर बुढाले बताउनुभयो ।








