कमल कोपिला
२८ जेष्ठ २०८३, कालिकोट।


नरहरिनाथ गाउँपालिका वडा नं. ३ को आयोजनामा शहीद परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढाले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई सम्मान गर्दै ब्ल्याङ्केट वितरण गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू लगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
वडा सचिव नामाकर उपाध्याय का अनुसार वडा नं. ३ भित्र रहेका २० जना शहीद परिवारलाई सम्मानसहित जाडो मौसममा उपयोगी हुने ब्ल्याङ्केट वितरण गरिएको हो।
कार्यक्रममा सहभागी शहीद परिवारहरूले सम्मान र सहयोगप्रति खुशी व्यक्त गरेका छन्। शहीदहरूको योगदानको सम्मान गर्दै उनीहरूका परिवारसँग भेटघाट गर्ने तथा राज्य र समाजले शहीदहरूको योगदानलाई सदैव सम्झिरहने सन्देश दिन कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष बुढाले बताउनुभयो।
उहाँले विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूको योगदान राष्ट्रका लागि अमूल्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि शहीद परिवारप्रति सम्मान र सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।








