कमल कोपिला
२९ जेष्ठ २०८३ कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा “स्थानिय दायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित “पूर्ण खोप सुरक्षित भविष्य, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम” सम्पन्न भएको छ ।


कार्यक्रम पालिका खोप समन्वय समितिका संयोजकका रुपमा गाउँपालिकाका कार्यवाहक अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत पारस पोखरेल र जीवन सहकारीको विशेष उपस्थिति रहेको थियो । यस्तै सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, बाल क्लब तथा युवा क्लबका प्रमुख तथा प्रतिनिधिको समेत उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमको मुख्य उद्देश्य सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप सुनिश्चित गर्नु, खोपबाट रोकथाम गर्न सकिने रोगहरुको नियन्त्रण तथा उन्मूलन गर्नु, दुर्गम तथा पिछडिएको समुदायसम्म खोप सेवाको पहुँच विस्तार गर्नु, खोप कार्यक्रमको गुणस्तर सुधार तथा नियमित अनुगमन गर्नु, खोप सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु तथा अभिभावकको सहभागिता बढाउनु रहेको स्वास्थ्य शाखा नरहरिनाथका संयोजक मान बहादुर सहकारीले बताउनुभयो । साथै खोप सेवामा देखिएका समस्या तथा चुनौतीहरुको पहिचान गरी समाधानका उपाय तय गर्ने, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाबीच समन्वय र सहकार्य सुदृढ गर्ने तथा आगामी कार्ययोजना तय गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको बताइएको छ ।


पूर्ण खोप भन्नाले १५ महिनाभित्र राष्ट्रिय खोप तालिका अनुसार बीसीजी १ मात्रा, रोटा २ मात्रा, डीपीटीहेप बी-हिब ३ मात्रा, पोलियो ३ मात्रा, एफआईपीभी २ मात्रा, पिसिभी ३ मात्रा, जेई १ मात्रा, दादुरा-रुबेला २ मात्रा तथा टाइफाइड १ मात्रा खोप प्राप्त गरेको बालबालिकालाई बुझिने जनाइएको छ ।
कार्यक्रममा हरेक बालबालिकाले जन्मपश्चात खोप सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएको, नेपालको संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप पहिलो आधारभूत सेवा भएको तथा जनस्वास्थ्य ऐनको सूचिमा समेत रहेको उल्लेख गरिएको थियो । साथै नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताको कार्यान्वयन तथा प्राप्त उपलब्धि कायम राख्न पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।


पूर्ण खोप दिगोपना पालिका घोषणा पूर्व गाउँपालिकाले विभिन्न तयारी तथा क्रियाकलापहरु सञ्चालन गरेको जनाएको छ । २०८२ साल साउनको पहिलो सातामा खोप केन्द्रस्तरीय सूक्ष्म योजना गोष्ठी सञ्चालन गरी खोपको सूक्ष्म योजना तयार गरिएको, पालिकास्तरीय अर्धवार्षिक तथा वार्षिक समीक्षा गोष्ठी सञ्चालन गरिएको, टोल तथा बस्तीस्तरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी घरधुरी सर्वेक्षण गरिएको, स्वास्थ्य संस्था स्तरमा तथ्यांक प्रमाणीकरण गरिएको तथा खोप छुटेका बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिइएको थियो । साथै पालिकास्तरमा नमुना सर्वेक्षण गरी सबै ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको जनाइएको छ ।
गाउँपालिकाको स्वास्थ्य तथ्यांक अनुसार कुल जनसंख्या २२ हजार २ सय १ रहेको छ । अनुमानित जीवित जन्म संख्या ५ सय ६२, १२ देखि २३ महिनासम्मका बालबालिका ५ सय ४५, पाँच वर्षमुनिका बालबालिका २ हजार ६ सय ४२, अनुमानित गर्भवती संख्या ६ सय ६२ रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।
त्यसैगरी, २०८२/०८३ का सूचक अनुसार बीसीजी ४१, डीपीटीहेप बी-हिब १ संख्या ४४, ओपिभी ३ संख्या ४३, पिसिभी ३ संख्या ४६, रोटा १ संख्या ४४, एफआईपीभी १ संख्या ४२, जेई ५१, दादुरा-रुबेला २ संख्या ५१ तथा टीडी २ र २+ संख्या ३६ रहेको जानकारी दिइएको थियो । २४-५९ महिनासम्म खोप सुरु गरेका बच्चा संख्या ३ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष कटक बहादुर बुढाले अब पनि खोप सेवा प्रवाहलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले हालसम्म योगदान गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामूहिक प्रतिबद्धताका लागि हस्ताक्षर संकलन गरिएको थियो भने मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । सो कार्यक्रमका बिच नरहरिनाथमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । पूर्ण खोप सुनिश्चिततालाई गाउँपालिकाको वार्षिक कार्ययोजनामा समावेश गरी निरन्तरता दिइने उल्लेख गरिएको छ ।








