कमल कोपिला
३ वैशाख, कालिकोट
कालिकोटको पचालझरनामा आजदेखि १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले एक विशेष समारोहका बीच गर्नुभएको थियो ।
पचालझरना गाउँपालिकामा आयोजित प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहहरूमध्ये ८ वटा स्थानीय तहबाट करिब ५६० भन्दा बढी खेलाडी र रेफ्रीहरूको सहभागिता रहेको छ। शुभकालिका गाउँपालिकाले भने प्रतियोगितामा सहभागिता नजनाएको खेलकुद विकास समिति अध्यक्ष गणेश बहादुर शाहीले जानकारी दिनुभयो।

उद्घाटन समारोहमा छात्र छात्रातर्फको ८ सय मिटर दौड, सटपुट जस्ता खेलहरू सम्पन्न भएका छन्। भोलिदेखी भलिवल, कबड्डी, एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने शाहिले समितिले जनाएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको अध्यक्षता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाहीले गर्नुभएको थियो। प्रमुख अतिथि माननीय महेन्द्र बहादुर शाही हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा पूर्व राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य जीवन बुढा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय शाहीले खेलकुदले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खेलकुदले युवाहरुलाई अनुशासित, सक्रिय र राष्ट्रिय भावना जागृत गराउने माध्यम हो। यसरी स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले जिल्ला र प्रदेश मात्र होइन, राष्ट्रस्तरमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत गर्छ। र स्थानीय तहबिचको खेल प्रतिस्पर्धात्मक नभएर सौहार्दपुर्ण रुपमा संचालन होस। आफू मुख्य मन्त्री हुदा कर्णाली प्रदेशको गौरवको आयोजना खेलकुद रंगशाला बनाउन योजना ल्याए । त्यस्तै एक स्थानीय तह एक रंगशालाको अवधारणा ल्याउदै खेलमैदानका लागि बजेट ल्याएको हु । कर्णालिमा खेलकुदको उत्साह छ तर १० औं रास्ट्रीय खेलकुदको मिति पटक पटक सार्दा कर्णाली बासीको मनोभावना माथी कुठाराघात गरिएको छ ।”
विशेष अतिथि पूर्व राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य जीवन बुढाले पनि खेलकुद क्षेत्रको सुदृढीकरणका लागि सबैको समन्वय जरुरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रलाई सुदृढ बनाउने अभियानमा सबै सरोकारवाला जुट्नुपर्छ। राष्ट्रका लागि खेलकुद भन्ने नारालाई व्यवहारिक बनाउन अझ स्थानीय तहले अझ गम्भीरता देखाउदै, यस प्रतियोगितामा सबैलाई शुभकामना दिन चाहन्छु।”
कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेश बहादुर शाहीले गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा प्रतियोगिता आयोजना गर्न पचालझरना गाउँपालिकाले पुर्याएको सहयोगप्रति आभार प्रकट गर्दै भने, “खेलकुदले समाजमा एकता, अनुशासन र सहकार्यको भावना विकास गर्छ। यस्ता प्रतियोगिताहरूले ग्रामीण भेगका प्रतिभालाई पहिचान दिने अवसर प्रदान गर्छ।”
समारोहमा जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू, शिक्षक, विद्यार्थी, खेलाडी, रेफ्री, पत्रकार र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको सह-आयोजक पचालझरना गाउँपालिका रहेको छ भने कार्यक्रम पडेक्षा कालिकोटमा सञ्चालन भइरहेको छ। यस्ता प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।