कमल कोपिला
२२ वैशाख २०८२, कालिकोट। नेकपा (एकीकृत समाजवादी) पार्टीले देशव्यापी तीन महिने संघर्षको कार्यक्रम अन्तरगत कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा योजनामूलक मागपत्र पेश गरेको छ। जनजीविकाका सवाल, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका विषयमा केन्द्रित मागपत्रहरू पेश गर्दै पार्टीले समाजवादी बाटोमा अघि बढ्न स्थानीय तहलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
![]()
नेकपा (एकीकृत समाजवादी) नरहरिनाथ गाउँकमिटी अध्यक्ष कर्ण बहादुर बुढाको नेतृत्वमा जिल्ला समन्वय समिती सदस्य धनसरा बिस्ट, जिल्ला कमिटी सचिवालय सदस्य रत्न सहकारी, राजु सिंह दर्जी, प्रेम बहादुर बिस्ट, दुर्गा बिस्ट, हर्क बुढा, गाउँ कमिटी सचिव काली बहादुर बिस्ट, उपसचिव दान बहादुर बुढा, वडा नं. ३ का अध्यक्ष मन बहादुर बिस्ट लगायतको टोलिले गाउँपालिकालाई मागपत्र बुझाएको हो। सो मागपत्रमा नरहरिनाथ भित्रका सडक बिस्तार र सुधार, पर्यटकीय क्षेत्रको प्रवर्द्धन र संरक्षण, भौतिक पुर्वाधारको विकास, न्यायिक सुधार, कृषि र उत्पादनमा जोड, सामाजिक न्यायका लागि अपिल, सुशासनको पक्षमा लाग्न अपिल लगायतका विसयहरु समेटिएका छन । गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले मागपत्रप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आउने गाउँसभामा यथोचित मागका योजना समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले श्रम प्रधान युगमा सबैलाई विकासको यात्रामा श्रमसंग जोडिन आग्रह गर्दै समाजवादी कार्यदिशालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। सो टोलिले नरहरिनाथ गाउँपालिकाको वडा नं ३ मा पनि माग पत्र बुझाएको थियो ।


रास्कोट नगरपालिकामा धनिराम सिम्खाडाको नेतृत्वमा स्थानीय सरकार समक्ष विस्तृत मागपत्र पेश गरिएको छ। सेवाकेन्द्र स्थापना, पुर्वाधार विकास, सडक सुधार र विस्तार लगायतका विविध विषयलाई प्राथमिकतामा राखिएको छ।

सशक्त अभियान अनुरुप “सुशासन र रोजगारी : समाजवादको तयारी” भन्ने मूल नाराका साथ शुभकालिका गाउँपालिकामा समेत मागपत्र बुझाइएको छ। पलाँता गाउँपालिकामा स्मार्ट सिटी निर्माणको पहलसहित प्रदेश कमिटी सदस्य जडेनी बम, सचिव रविन्द्र महतारा, रोचक लगायतको टोलीले योजनामूलक माग राखेका छन्। त्यस्तै, महावै गाउँपालिकामा सृजन शाही ‘पुष्कर’को नेतृत्वमा २३ बुँदे मागपत्र प्रस्तुत गरिएको छ, जसमा सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जना सम्बन्धी विषयहरू समावेश छन्। यसैबीच, कालिकोटका अन्य स्थानीय तहमा पनि विविध मागहरु राख्दै समाजवादी पार्टिले मागपत्रहरु पेश गरेको छ।
![]()
शुक्रवार कालिकोटमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै एकीकृत समाजवादीले १७ बुँदे गम्भीर माग पेश गरेको थियो। जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित उक्त मागपत्रमा खाद्य संस्थान र साल्ट ट्रेडिङको नुन पालिकास्तरमै उपलब्ध गराउने व्यवस्था, पोष्टमार्टमका लागि सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य, वर्षायाममा सडक सञ्चालन योग्य बनाउने पहल, राज्य निर्धारित भन्दा बढी भाडा असुली हटाउने, कार्यालय प्रमुख विहीन सरकारी कार्यालयहरूमा प्रमुख खटाउने, रास्कोटमा सेवाकेन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाउने, कोटवाडा एअरपोर्ट सञ्चालन, फुकोट र तिला जलविद्युत् आयोजनाको पुनःसञ्चालन र पान्तडीमा पक्की पुल र भैंसीगौंडामा सुरक्षित स्थानमा बेलिब्रिज निर्माण लगायत विभिन्न क्षेत्रगत योजनाको माग गरिएको थियो। त्यस्तै, बालविवाह, बहुविवाह तथा जातीय विभेद अन्त्य गर्ने विषयमा समेत आवाज उठाइएको छ। सामाजिक न्याय, समानता र न्यायोचित समाजको निर्माणका लागि समाजवादी नेतृत्व प्रतिबद्ध रहेको सन्देश दिइएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले मागपत्र ग्रहण गर्दै सम्बोधन योग्य मागहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइने जानकारी दिनुभयो। उहाँले मागपत्र प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा तत्काल पठाइने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरमै सम्भव हुने कामहरू शीघ्र कार्यान्वयन गरिने बताउनुभएको एकीकृत समाजवादी पार्टी कालिकोटले जनाएको छ ।
![]()
उक्त अभियानमा पार्टी केन्द्रीय सदस्य बिजया बिष्ट, प्रदेश सदस्य लालबहादुर मल्ल, निर्वाचन क्षेत्र (१) का अध्यक्ष कम्म बहादुर शाही, उद्योग वाणिज्य संघ अध्यक्ष रतनबहादुर शाही, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अनन्त वराल, अनेमसंघ(समाजवादी) जिल्ला अध्यक्ष पुष्पा सिंह (शाही)लगायतको सक्रिय सहभागिता रहेको थियो ।
![]()
नेकपा (एकीकृत समाजवादी)को यो अभियानले कालिकोट जिल्लामा योजनात्मक विकासको आवश्यकता उजागर गर्नुका साथै स्थानीय तहलाई जनतामुखी योजना बनाउन प्रेरित गरेको देखिन्छ। समाजवादी राजनीतिको मूल सार जनतालाई केन्द्रमा राखेर, श्रम र समानताको आधारमा योजनामूलक विकास तर्फ उन्मुख हुनु हो भन्ने सन्देशसँगै पार्टीको अभियानले आगामी दिनमा थप जनसमर्थन हासिल गर्ने अपेक्षा गरिएको छ।



