कमल कोपिला
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडा र वडा नं. ६, ८ र ९ का बस्तीहरूलाई जोड्ने बहुप्रतिक्षित रहगाड पुल को उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले औपचारिक रूपमा उद्घाटन गर्दै पुल निर्माणमा योगदान पुर्याउने उपभोक्ता समितिलाई सम्मान समेत गरेका छन ।
रह खोला माथि १२६ मिटर निर्माण गरिएको यो पुलले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका बासिन्दाहरूको दैनिकी सहज बनाएको छ। विगतमा बर्खायाममा बाढीले बाटो अवरुद्ध हुने, बिरामीलाई बोकेर खोलो तर्नुपर्ने, बालबालिका र बृद्धबृद्धाले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएको स्थानीयहरूले बताए। उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष शाहले भने, “जनताको लामो पर्खाइ, संघर्ष र अपेक्षालाई सम्बोधन गर्दै आज यो ऐतिहासिक कार्य सम्पन्न भएको छ। यो पुल जनताको सम्पत्ति हो, यसलाई संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो।”

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, उपभोक्ता समिति पदाधिकारी तथा सदस्य, प्राविधिक, निर्माणकर्मी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमकै क्रममा उत्कृष्ट व्यवस्थापन तथा पारदर्शिता पूर्वक निर्माण कार्य सम्पन्न गरेको भन्दै रहगाड पुल उपभोक्ता समितिका अध्यक्ष र सदस्यहरुको प्रशंसा तथा सम्मान गरिएको थियो।
स्थानीय बासिन्दा मनबहादुर बिष्टले भने, “यो पुल हामीजस्ता किसान र विद्यार्थीका लागि वरदान सावित हुनेछ। बर्षौंदेखिको हाम्रो माग आज पूरा भएको छ।”
पुल निर्माणले स्वास्थ्य सेवा पहुँच, शिक्षा, कृषि बजार तथा आपतकालीन राहत व्यवस्थापनमा समेत ठूलो योगदान पुग्ने जनाइएको छ। सो पुल बिं सं २०७७ साल साउन १३ गतेको बाढीले पहिरो खस्दा बिगारेपछि आवतजावतमा समस्या भएको थियो।


