कमल कोपिला
१६ बैशाख २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा विपद् व्यवस्थापन र मौसम सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकले स्थानीय तहदेखि संघ-प्रदेशसम्म समन्वय गर्दै सूचना प्रणाली सुदृढ गर्ने निष्कर्ष निकालेको हो ।

नरहरिनाथ गाउँपालिका वडा नं. १ मा रहेको वर्षा मापन उपकरण (रेनगज) मार्फत प्राप्त मौसमसम्बन्धी पूर्वानुमान सूचना संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ-संस्थाको सहकार्यमा नियमित रूपमा प्रवाह गर्ने सर्वसम्मत निर्णय पारित गरिएको छ । यसले स्थानीय स्तरमा समयमै सूचना उपलब्ध गराई सम्भावित विपद् जोखिम न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्तै, गाउँपालिकामा विपद् पोर्टल व्यवस्थापनका लागि जियो-हेजार्ड मोडेलमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई इमेलद्वारा पहिरोसम्बन्धी अध्ययन तथा विवरण पठाउने निर्णय गरिएको छ । साथै, गाउँपालिकामा जडान गरिएको स्वचालित वर्षा मापन केन्द्रलाई जल तथा मौसम विज्ञान विभागको प्राविधिक मापदण्डअनुसार विभागको तथ्यांक प्रणालीसँग आबद्ध गरी सूचना प्रवाह गर्ने निर्णय समेत गरिएको छ।

बैठक नरहरिनाथ गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। सो बैठकमा वडाध्यक्षहरू, कर्मचारीहरू, डा. इन्दिरा कडेल, गंगादत्त भट्ट, तुलाराम पाण्डे, विनय ज्ञवाली, ई. सुरज गौतम तथा फुर्बा मोक्तान लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकले स्थानीय तहमा सूचना प्रवाह प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विपद् व्यवस्थापनमा सहकार्य बढाउने दिशामा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया