कमल कोपिला
१८ बैशाख २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका गाउँपालिका वडा नं ३ डाडामाडुस्थित योगि नरहरिनाथ आधारभूत अस्पतालमा आजदेखि निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सुरु गरिएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा पहिलो दिनमै उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय बासिन्दाहरू बिहानैदेखि अस्पतालमा पुगेर आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्, जसले स्वास्थ्यप्रति बढ्दो जनचेतनालाई पनि झल्काएको छ।
अस्पतालका सिनियर अहेव निरीक्षक धनबहादुर बोगटीका अनुसार शिविरको पहिलो दिन कुल २०८ जनाले आँखा जाँच सेवा लिएका छन् भने तीमध्ये २० जनाको सफलतापूर्वक मोतिविन्दु शल्यक्रिया गरिएको छ। आई केयर फाउन्डेसनको सहयोगमा, नेपाल नेत्र ज्योति संघ अन्तर्गत हिमालय आँखा अस्पताल पोखराको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ कालिकोट र नरहरिनाथ गाउँपालिकाको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो।
अस्पतालका डा. शिवनाथ यादवका अनुसार अनुभवी नेत्र रोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीसहितको चिकित्सक टोलीले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ। शिविर शनिबारसम्म सञ्चालन हुने बताइएको छ भने आगामी दिनमा अझ बढी बिरामीले लाभ लिने अपेक्षा गरिएको छ।

