कमल कोपिला
२२ बैशाख २०८३ कालिकोट । जिल्लास्थित श्री नन्दादेवी बहुमुखी क्याम्पस मा एम.एड (Master of Education) कार्यक्रम सञ्चालन गर्न पहल सुरु भएको छ। सो विषयमा आज क्याम्पस परिसरमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा सहभागीहरूले लामो समयदेखि स्नातक (Bachelor) तह उत्तीर्ण गरी उच्च शिक्षाको अवसर नपाएर घरमै बस्न बाध्य भएका तथा आर्थिक अवस्था कमजोर भएका कारण बाहिर गएर अध्ययन गर्न नसक्ने विद्यार्थीहरूका लागि स्थानीय स्तरमै स्नातकोत्तर तहको अध्ययनको व्यवस्था अत्यन्त आवश्यक रहेकोमा जोड दिएका थिए। यस पहलले बर्सेनि ब्याचलर पास गरेर अलमलमा परेका विद्यार्थीहरूलाई सहज रूपमा आफ्नै गाउँ-ठाउँमा उच्च शिक्षा हासिल गर्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष कटक बहादुर बुढा ले क्याम्पसमा एम.एड तह सञ्चालनका लागि आवश्यक सबै सूचकहरू पूरा गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले गाउँपालिकाको तर्फबाट आवश्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै शिक्षा विकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको भनाइले स्थानीय तहको साथ र सहकार्यबाट क्याम्पसको स्तर उन्नति सम्भव रहेको सन्देश दिएको थियो।
कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष अनिल सहकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने पूर्व सहायक डिन तथा शिक्षा संकायका प्रतिनिधि बलराम राया प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा टंक प्रसाद आचार्य र अनेश श्रेष्ठाचार्य को विशेष आतिथ्यता रहेको थियो। त्यसैगरी, क्याम्पस सञ्चालन समितिका पदाधिकारि, क्याम्पस प्रमुख कमल प्रसाद सापकोटा, क्याम्पसका कर्मचारी, रमा माविका प्रधानाध्यापक तपेन्द्र महतारा, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बलराम रायाले क्याम्पसमा एम.एड सञ्चालनका लागि आवश्यक मापदण्डहरू अधिकांश रूपमा पूरा भइसकेको उल्लेख गर्दै अब बाँकी रहेका कामहरूलाई तीव्र गतिमा अघि बढाउन सबै सरोकारवालाहरूलाई आह्वान गर्नुभयो। उहाँले सामूहिक प्रयास र दृढ इच्छाशक्तिले छिट्टै एम.एड कार्यक्रम सञ्चालनमा ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।
क्याम्पस प्रमुख कमल प्रसाद सापकोटाले क्याम्पस स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा विभिन्न चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गर्दै पुनः एकपटक सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र नयाँ कार्यक्रम विस्तारका लागि साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो। साथै, विर्धार्थिहरुलाई सहजता ल्याउन क्याम्पसमै परीक्षा अब हुने कुरा अगाडि बढेको पनि जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरूले समेत क्याम्पसमा एम.एड कार्यक्रम सञ्चालन हुन सकेमा र परीक्षा केन्द्र पनि सोही क्याम्पसमै हुन सके ठूलो राहत मिल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले आर्थिक, पारिवारिक तथा भौगोलिक कारणले बाहिर गएर पढ्न नसक्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्दै क्याम्पस परिवारको यस पहलप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए। साथै, स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध भएमा शिक्षाको पहुँच विस्तार हुने र समाजको समग्र शैक्षिक स्तर उकासिने अपेक्षा गरिएको छ।
मास्टर्स पढाइतर्फ श्री नन्दादेवी बहुमुखी क्याम्पस ले कदम तीव्र रूपमा अघि बढाएको छ। कालिकोट जिल्लामै त्रिभुवन विश्वविद्यालय अन्तर्गत मास्टर्स तह सञ्चालन गर्ने अन्य क्याम्पस नभएको अवस्थामा यो पहललाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ। एम.एड अध्ययनका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा विद्यार्थीहरूले गरेका छन्। यससँगै नरहरिनाथ गाउँपालिकाभित्र हाल ६ वटा +२ सञ्चालनमा रहेका छन्, जसले आगामी दिनमा स्थानीय स्तरमै उच्च शिक्षाको दायरा अझ विस्तार हुने सम्भावना देखिएको छ।

