कमल कोपिला
२३ बुधबार २०८३ कालिकोट । जिल्लामा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन खाडाचक्र नगरपालिका-५ का वडा अध्यक्ष र जिल्ला क्रिकेट संघका सदस्य पवन बमले गरेका हुन्।

कालिकोट जिल्ला क्रिकेट संघ सदस्य पवन बमको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी एवम अतिथीहरुले खेलकुदको महत्वबारे चर्चा गर्नुका साथै सहभागि प्रतियोगी टोलीहरूको परिचय प्रस्तुत गरिएको थियो। वातावरण उत्साहपूर्ण र खेलमैत्री देखिएको थियो। प्रतियोगितामा जिल्लाभरका जम्मा ७ वटा विद्यालयका टोलीहरूको सहभागिता रहेको छ। जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको बताईएको छ।

उद्घाटनपछिको पहिलो खेल जनजीवन माध्यमिक विद्यालय ताडी र कालिका माध्यमिक विद्यालय छाप्रेबीच सम्पन्न भएको छ। उक्त खेलमा जनजीवन मा.वि.ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
अन्तरविद्यालय च्याम्पियनसिप ग्रासरुट खेलाडी विकासतर्फको सानो तर महत्वपूर्ण प्रयास भएको आयोजकले जनाएको छ। आज मैदानमा देखिएका प्रतिभाशाली खेलाडीहरू भोलि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगून् भन्ने विश्वासका साथ यो अभियान अघि बढाइएको कालिकोट जिल्ला क्रिकेट संघका सदस्य बमले जानकारी दिए।

सो प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय स्तरमै रहेका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने मार्ग खोल्नु रहेको सभाध्यक्ष बमले बताए। साथै, विशेषगरी पहाडी तथा हिमाली भूभागमा क्रिकेटको बढ्दो आकर्षणलाई थप मजबुत बनाउँदै विद्यालय तहबाटै खेलकुद विकास गर्नुपर्ने आवश्यकता प्रतियोगिताले झल्काउने बिश्वास व्यक्त गरिएको छ।

आयोजकका अनुसार, प्रतियोगिता करिब ३ दिनसम्म सञ्चालन हुनेछ र मौसमले साथ दिएमा बैशाख २५ गते फाइनल खेल सम्पन्न गरिनेछ। विजेता टोलीलाई आकर्षक ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ। सो प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रतिको रुचि र उत्साह झनै बढ्दै गएको संकेत गरेको छ। खेलाडी तथा दर्शकहरूले यस्तो स्तरको प्रतियोगिता आफ्नो क्षेत्रमा आयोजना हुन पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले खेलकुद विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

