शनिवार १४ माघ २०७९ कालिकोट।
कमल कोपिला कालिकोट।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी बोलाएको छ ।
क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा परेका छैनन् । त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । सिरिजको पहिलो खेलमा फेब्रुअरी १४ मा नेपालले नामिबियासँग खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी १८ मा नामिबिया र २१ मा पुनः स्कटल्याण्डसँग खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अङ्कका साथ छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अङ्कसहित तेस्रो स्थानमा छ ।