बुधवार २७ मंसिर २०८०
कमल कोपिला
खेलौनामार्फत ‘नारीवादी परिघटना’ सिर्जना गर्न सफल ग्रेटा गेर्विग निर्देशित फिल्म ‘बार्बी’ले सन् २०२४ को गोल्डेन ग्लोब अवार्डको मनोनयनमा वर्चस्व कायम गरेको छ । १० विधामा मनोनित फिल्मले गोल्डेन ग्लोबको ८१ वर्षको इतिहासमा दोस्रो सर्वाधिक मनोनयन हुने फिल्मको कीर्तिमान रचेको छ ।
आणविक बम निर्माणबारेको क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ले ‘बार्बी’लाई पछ्याउँदै ८ विधामा मनोनित भएको छ । ‘ओपेनहाइमर र बार्बी एउटै सप्ताहन्तमा रिलिज भएका थिए । दुई ब्लकबस्टर फिल्म एउटै मितिमा प्रदर्शन भएको यो घटनालाई महत्वपूर्ण मानिएको छ ।
एचबीओको सिरिज ‘सक्सेन’ टिभी कार्यक्रमतर्फ सर्वाधिक ९ विधामा मनोनित भएको छ । ‘माएस्ट्रो’, ‘द क्राउन’, ‘द डिप्लोम्याट’जस्ता फिल्म सिरिज निर्माता नेटफिल्क्स २८ विधासहित सर्वाधिक मनोनयन हासिल गर्ने मिडिया कम्पनी बनेको छ ।