कमल कोपिला
१९ माघ २०८१ । कालिकोट जिल्लामा माघ महिनामा आयोजित पहिलो कालिकोट खुल्ला टी-20 क्रिकेट प्रतियोगितामा रास्कोट नगरपालिकाको टिमले उपाधि जित्न सफल भएको छ । हिमालयन टाइगरसँगको रोमाञ्चक फाइनल खेलमा रास्कोटले ७३ रनको लक्ष्य प्राप्त गरेको थियो र २ ओभर बाँकी रहँदै जित हात पारेको हो। यो प्रतियोगिता माघ १६ गतेदेखि १९ गतेसम्म चलेको थियो र कालिकोट जिल्ला क्रिकेट संघका अध्यक्ष खड्कजङ्ग शाहीको अध्यक्षता, खाँडाचक्र नगरपालिका उप-मेयर गणेश शाहीको प्रमुख आतिथ्य र नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनराज शाही र कर्णाली प्रदेश क्रिकेट रेफ्री पबन बमको विशेष सक्रियतामा सम्पन्न भएको थियो।
प्रतियोगितामा रास्कोट नगरपालिकाले शानदार प्रदर्शन गर्दै उपाधि जितेपछि पुरस्कारको रूपमा २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको हिमालयन टाइगरलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ । यस प्रतियोगिता आयोजनाबाट कालिकोट जिल्लामा आगामी प्रधानमन्त्री कप (PM CUP) को तयारी र प्रादेशिक क्रिकेट टिम निर्माणको प्रक्रिया आरम्भ भएको छ । प्रतियोगिता क्षेत्रीय क्रिकेटको स्तरमा खेलाडीहरूलाई एकजुट गर्ने अवसर प्रदान गरिरहेको छ र आगामी दिनमा यहाँको क्रिकेट खेलको भविष्य उज्जवल देखिन्छ ।
टी-20 क्रिकेट प्रतियोगिता मात्र नभई यसले जिल्लामा क्रिकेटको माया र उत्साहलाई थप प्रोत्साहन दिएको छ। यसले एकता र सहयोगको भावना उत्पन्न गर्दै भविष्यमा थप प्रतिस्पर्धी र उच्च स्तरको क्रिकेट खेलको माहौल सिर्जना गर्ने विश्वास गरिएको छ।