कमल बिष्ट
२६ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका अहिले तीव्र सडक विकास अभियानमा होमिएको छ । गाउँपालिकाका विभिन्न ठाउँहरूलाई परस्पर जोड्ने उद्देश्यले ग्रामीण सडक सुधार योजना अन्तर्गत चारवटा ठूला ग्रामीण सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टका अनुसार सबै वडालाई सडक सञ्जालमा समेट्दै बाह्रै महिना सवारी सञ्चालन हुने गुणस्तरीय सडक बनाउने लक्ष्यसहित सरकारको लगानीमा काम भइरहेको छ । सबैभन्दा राम्रो पक्ष के छ भने, गाउँपालिकादेखि माल्कोट – लालु जोड्ने सडक पालिकाका आफ्नै जेसिबि प्रयोग गरी निर्माण भइरहेको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहका अनुसार सरकारी साधन र स्रोतको अधिकतम उपयोग गर्दै सडक निर्माणलाई अघि बढाइएको छ । तीव्र गतिमा भइरहेको निर्माण कार्य गाउँपालिकाका सब-इन्जिनियर कमल सहकारीका अनुसार, नरहरिनाथ गाउँपालिकाबाट जिउला कोटसम्म २५०० मिटर सडक निर्माण भइसकेको छ, अब कोटदेखि झेडासम्म १५०० मिटर मात्रै बाँकी रहेको छ । मापदण्ड अनुसार सडक निर्माण कार्य भइरहेको भए तापनि खेतीयोग्य जमिनको बीचबाट बाटो निकाल्नुपर्ने भएकाले केही कठिनाइ आएको छ ।
स्थानीय सरकारको प्रतिबद्धता

वडाहरूलाई आपसमा जोड्दै नागरिकलाई सहज यात्रा अनुभव गराउने उद्देश्यले सडक निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । छेडामा पक्की पुल निर्माणका लागि समेत पहल भइरहेको छ, जसले आगामी दिनमा सडक बिस्तारको नाममा घर भत्काउनु नपरोस् । वडानं. ६ का अध्यक्ष पौराम विकले गाउँमा सडक विस्तारपछि पालिकाको कार्यालय पुग्न अब घण्टौँको पैदल यात्रा गर्नु नपर्ने बताए । त्यस्तै, वडानं. ८ का अध्यक्ष लाल बहादुर बिष्टले निर्माण कार्यप्रति सन्तोष व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । वडानं. ९ का अध्यक्ष तथा नरहरिनाथ सरकारका प्रवक्ता प्रदीप बोहराका अनुसार, यदि कुनै बजेट अभाव वा अन्य समस्या उत्पन्न नभएमा आगामी आर्थिक वर्षको अन्त्यसम्म नरहरिनाथ गाउँपालिकाको मुहार फेरिनेछ । वडानं. ३ का अध्यक्ष कटक बुढाले नागरिकलाई सुरक्षित रूपमा यात्रा गर्न आग्रह गर्दै सडक निर्माण कार्यमा स्थानीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । सडक निर्माण कार्य तीव्र गतिमा भइरहेकाले अबको केही महिनामा गाउँका बासिन्दाले सुविधासम्पन्न सडकको लाभ लिनेछन् । यो विकासको गतिलाई निरन्तरता दिँदै भविष्यमा नरहरिनाथ गाउँपालिकालाई समृद्ध र पूर्वाधारयुक्त गाउँपालिका बनाउने लक्ष्य लिइएको छ ।