कमल कोपिला
२९ माघ कालिकोट । जनयुद्धकालीन इतिहासको साक्षी माल्कोटमा पहिलो पटक गाडी पुगेको छ। विकासको नयाँ युगको सुरुवातसँगै स्थानीय बासिन्दाले दशकौँदेखिको सपना साकार भएको महसुस गरेका छन्। नरहरिनाथ गाउँपालिकाको पहलमा खुलालु – विश्वकुना – पिपलरुख – थाडुमाडु – उच्छव हुँदै रामारोशन पर्यटकीय सडक मार्ग अन्तर्गत माल्कोट सेरापाटासम्म सवारी साधन पुग्न सफल भएको हो।
२०५५ साल चैत २४ गते माल्कोटले जनयुद्धकालमा वीरताको गाथा रचेको थियो। त्यतिबेला महिलाहरूले प्रहरीको राइफल खोसेर प्रतिरोध गरेका थिए भने प्रहरी दमनका क्रममा गोरिकला बिकसहित तीन जना महिला घाइते भएका थिए। काली बिकको हत्या भएपछि गाउँ आक्रोशित बनेको थियो, जसका कारण प्रहरीले पछि हट्नुपरेको थियो। आज त्यही माल्कोटमा गाडी पुगेपछि स्थानीयले त्यो संघर्षलाई स्मरण गर्दै विकासको नयाँ युगको सुरुवात भएको बताएका उपाध्यक्ष कमल कुमार शाहले बताए । उनले भने, “तत्कालिन समयमा जनयुद्ध सुरु हुदा अहिलेका नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा क.प्रकाण्ड सि मात्र भुमिगत हुनुहुन्थ्यो । नेपाल प्रहरिले त्यो समयमा उहाँलाई खोज्दै घर घरको खानतलासी गर्नेक्रममा गोरिकला बिक लगायत तीन जना महिला घाईते भएका थिए । नेपाल प्रहरिलाई लखेटेर चिउरिमेला पुर्याएका थिए । घट्टबाट घर फर्कि दै गरेका कोटवाडाका काली बहादुर बिश्वकर्मालाई अनायसै गोलि हानी हत्या गरे पछि माल्कोट थप आक्रामक बनेको थियो । त्यो बेला त्यहाँका महिलाहरुले राईफल खोसेका थिए । चारै तिरबाट आगो लगाएर भगाएका थिए र एक जना प्रहरी हवल्दारको पनि मृत्यु भएको थियो।”

सडक उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिस्ट, उपाध्यक्ष कमल कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, सम्पूर्ण वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष बिस्टले गाउँपालिकाको दीर्घकालीन योजनाअन्तर्गत यो सडक निर्माण सम्पन्न भएको बताउँदै यसको प्रभावले शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनमा ठूलो सुधार आउने बताए।
स्थानीय बासिन्दाले सडक निर्माणलाई स्वागत गर्दै गाउँमा यातायातको सुविधा पुगेपछि सहज आवतजावत, व्यापारको प्रवर्द्धन, स्वास्थ्य सेवा तथा शिक्षामा पहुँच बढ्ने विश्वास व्यक्त गरेका छन्। गाडी नपुगेका कारण यहाँका नागरिकले लामो दूरी हिँड्नुपर्ने बाध्यता थियो, तर अब सहज यातायातका कारण माल्कोट विकासको मूल प्रवाहमा समाहित हुनेछ।
यो सडक केवल यातायातको सुविधा मात्र नभएर माल्कोटको ऐतिहासिक संघर्षलाई विकाससँग जोड्ने सेतु बनेको स्थानीयको धारणा छ। अब यहाँ पर्यटन प्रवर्द्धनका लागि नयाँ योजना ल्याइने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरिने गाउँपालिकाले जनाएको छ।