कमल कोपिला
८ असोज २०८३ कालिकोट । नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रामबहादुर बटालालाई गाउँपालिका कार्यसमितिको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नरहरिनाथ गाउँपालिकाको दोस्रो अधिवेशन असोज ७ गते खुल्ला शत्र सम्पन्न गर्दै ८ गते बन्द शत्र सम्पन्न भएको हो। अधिवेशनबाट बटालाको नेतृत्वमा २७ सदस्यीय गाउँपालिका कार्यसमिति निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस नरहरिनाथले जनाएको छ।

अधिवेशनबाट उपसभापतिमा गोविन्द बिष्ट र महिला उपसभापतिमा थुमा बुढा सहकारी, सचिवमा गोविन्द नेपाली तथा सहसचिवमा मीनबहादुर बोगटी निर्वाचित भएका छन्।

अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराई, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य माननीय कालीबहादुर सहकारी तथा नेपाली कांग्रेस कालिकोटका जिल्ला उपसभापति मीनबहादुर बोगटी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
‘कार्यकर्ताको शिर झुक्न दिने छैनौँ’
नवनिर्वाचित सभापति रामबहादुर बटालाले पार्टीका नेता तथा कार्यकर्ताको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनपछि सम्बोधन गर्दै बटालाले पार्टी संगठनलाई थप मजबुत बनाउँदै सिंगो कार्यसमिति एकताबद्ध भएर काम गर्ने बताए। उनले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकबीच समन्वय कायम गर्दै संगठन विस्तारमा आफू केन्द्रित हुने धारणा व्यक्त गरे।
उनले आफ्नो नेतृत्वको कार्यसमिति दत्तचित्त भएर पार्टी संगठन र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता पनि जनाए।
सबै वडामा अधिवेशन सम्पन्न
नरहरिनाथ गाउँपालिकामा पालिका अधिवेशनअघि नै नेपाली कांग्रेसले गाउँपालिकाअन्तर्गतका सबै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ। वडा अधिवेशनबाट वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसमेत चयन भइसकेका छन्।
नेपाली कांग्रेस नरहरिनाथका अनुसार वडा नं. १ को सभापतिमा नमराज बिष्ट, वडा नं. २ मा गणेशमान किक, वडा नं. ३ मा रमेश भट्टराई, वडा नं. ४ मा जोगिराम सहकारी, वडा नं. ५ मा भद्रबहादुर सहकारी, वडा नं. ६ मा जगतबहादुर शाही, वडा नं. ७ मा रामबहादुर शाही, वडा नं. ८ मा दमनराज बिष्ट र वडा नं. ९ मा परेकबहादुर सभापतिमा चयन भएका छन्।
वडा अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधिहरूको चयन प्रक्रिया पनि टुंगिएको कांग्रेस नरहरिनाथले जनाएको छ।
नेतृत्वबाट बधाई
अधिवेशनमा सहभागी कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराई, प्रतिनिधिसभा सदस्य कालीबहादुर सहकारीलगायतका नेताहरूले नवनिर्वाचित पालिका तथा वडा कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

उनीहरूले संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नवनिर्वाचित नेतृत्वको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए।


नरहरिनाथमा वडा तहदेखि पालिका तहसम्मको अधिवेशन प्रक्रिया सम्पन्न भएसँगै नेपाली कांग्रेसको स्थानीय संगठनले नयाँ नेतृत्व प्राप्त गरेको छ।

निर्विरोध रूपमा कार्यसमिति चयन हुनुले स्थानीय तहमा पार्टीभित्रको संगठनात्मक प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


