कमल कोपिला
१८ कार्तिक २०८३ कालिकोट । प्रारम्भिक बालविकासका लागि बुवाको भूमिका तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले नरहरिनाथ गाउँपालिकामा सञ्चालित चारदिने तालिम सम्पन्न भएको छ ।


पोषण परियोजनाको आयोजनामा, प्लान इन्टरनेशनल नेपाल, किर्डाक नेपाल र हुरेन्डेक नेपालको साझेदारी तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । लक्षित समुदायस्तरमा प्रारम्भिक बालविकासका लागि बुवाको सहभागिता बढाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिमको समापन समारोह पोषण परियोजना संयोजक सर्जु बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह प्रमुख अतिथि तथा वडा नं. ३ का वडाध्यक्ष कटकबहादुर बुढा त्यस्तै, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहरा, वडा नं. ४ का वडा सदस्य नरेन्द्र सहकारी, स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारी, पब्लिक हेल्थ नर्स सरिता बिष्ट लगायत जनप्रतिनिधि, पत्रकार तथा तालिममा सहभागी स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा सहभागी स्वास्थ्य चौकी लालुका प्रमुख नरेश बिष्टले तालिम अत्यन्तै उपयोगी र आवश्यक रहेको भन्दै यसको प्रशंसा गरे । उनले प्रारम्भिक बालविकासका क्षेत्रमा यस्ता तालिमले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
पब्लिक हेल्थ नर्स सरिता बिष्टले बालबालिकाको समग्र विकासका लागि आमासँगै बुवाको भूमिकालाई पनि सशक्त बनाउन आवश्यक रहेको बताइन् ।बालबालिकाको पोषण, हेरचाह र विकासमा बुवाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले कुपोषण दलित तथा गरिब समुदायमा मात्रै हुन्छ भन्ने बुझाइ गलत रहेको उल्लेख गरे । उनले नरहरिनाथ गाउँपालिकाको वडा नं. ५ मा दलित समुदाय नै नभएको स्थानमा समेत कुपोषण देखिएको उदाहरण दिँदै यस विषयलाई गम्भीर रूपमा लिन स्वास्थ्यकर्मीलाई आग्रह गरे । कुपोषण न्यूनीकरणका लागि स्वास्थ्यकर्मीहरू थप जागरुक र तदारुकताका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले आगामी दिनमा समुदायस्तरमा बुवा समूह निर्माण गर्दा आउन सक्ने चुनौती समाधानका लागि स्थानीय सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले नरहरिनाथ गाउँपालिकाको समग्र स्वास्थ्य अवस्था सुधार गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । विशेषगरी स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूले जिम्मेवारीपूर्वक काम गरेमा स्वस्थ गाउँपालिका निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष एवं पोषण परियोजना संयोजक सर्जु बरालले तालिम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी तथा सरोकारवालालाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


