कमल कोपिला
१७ कार्तिक २०८३ कालिकोट । जिल्लाको रुप्साबाट लालिघाटसम्मको यात्रा उनीहरूका लागि सहज थिएन। खेल खेल्न जाने उत्साह बोकेर घरबाट निस्किएका नरहरिनाथका ७ जना महिला भलिबल खेलाडीले भाडा नपाउँदा पैदल हिँडेरै लालिघाट पुग्नुपर्यो। यात्रामा अनेकौँ दुःख थिए, खेल मैदानमा पनि चुनौती कम थिएनन्। तर अभावले उनीहरूको हिम्मत रोक्न सकेन। अन्ततः त्यही संघर्षले उनीहरूलाई विजेता बनायो।

म्यादी प्रहरीसमेत बनेर आफ्नो जीवनमा संघर्ष गरेकी नरहरिनाथको भलिबल टोलिकी कप्तान एलिना बोगटी आफ्नो टोलीले भोगेका ती दिन सम्झिँदा भावुक हुन्छिन्। उनले साथिहरुको घरमा आमाबुवालाई कन्भेन्स गरेर भाडा समेत हालेर लगेको तर खेल खेल्न जाँदा स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ। गाउँपालिकाले प्रतियोगितामा सहभागी हुन आवश्यक सहयोग र समन्वय नगरेको, पत्रसमेत नबनाइदिएको र फोन गर्दा पनि राम्रो प्रतिक्रिया नपाएको उनी बताउँछिन्।

खेल मैदानमा पनि उनीहरूको अवस्था सहज थिएन। टोलीसँग प्रशिक्षक (कोच) थिएनन्। खेल बिग्रिँदा आफैँ समय माग्ने, खेलाडीहरूलाई आफैँ सम्झाउने र रणनीति बनाएर खेल्ने गरेको एलिना सुनाउँछिन्। टोली प्रवेश शुल्क तिर्नसमेत उनीहरूले निकै दुःख भोग्नुपर्यो। प्रतियोगितामा जितेको पुरस्कार रकमबाटै आयोजकले प्रवेश शुल्क कटौती गरेको उनको भनाइ छ।

आफ्नै खर्चमा खेल पोसाक खरिद गरेका उनीहरूका लागि कोहि दर्शकले १ पेटी स्याउ दिदा पनि ठूलो खुसी मिलेको बताए। प्रतियोगिता स्थलका स्थानीयले नरहरिनाथको नाम लिएर हुटिङ गर्दा आफूहरूलाई थप ऊर्जा मिलेको एलिना सम्झिन्छिन्। अझ रोचक कुरा त के थियो भने, टोलीमा नरहरिनाथका ७ जना खेलाडी भए पनि त्यहाँ नरहरिनाथका अन्य कुनै व्यक्ति उपस्थित थिएनन्। तैपनि स्थानीयले गाउँपालिकाको नाम लिएर गरेको समर्थनले उनीहरूको मन जितेको थियो।

अभाव र चुनौतीका बीच मैदानमा उत्रिएको यही टोलीले तिलागुफा नगरपालिका–४, राँचुलीमा परिवर्तनशील युवा क्लबको आयोजनामा सञ्चालन भएको १३ जनाको सम्झनामा आयोजित चौथो स्मृति कप पालिकास्तरीय खुला महिला भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बिजेता बन्यो। त्यस्तै, अर्को स्थानमा द्वितीय बन्यो ।टोलीले एउटा ठाउँमा प्रथम र अर्कोमा दोस्रो स्थान हासिल गर्दै नरहरिनाथको नाम चिनाउन सफल भयो।

खेलाडीहरूको संघर्ष र सफलताको प्रशंसा गर्दै गाउँपालिका उपाध्यक्ष शाहले ग्रामीण क्षेत्रका खेलाडीलाई टाढाटाढा पुगेर प्रतियोगितामा सहभागी हुनुपर्दा अनेकौँ कठिनाइ हुने बताए। आगामी दिनमा गाउँपालिकासँग बलियो समन्वय गरेर खेलकुद गतिविधिमा अघि बढ्न उनले खेलाडीहरूलाई आग्रह गरे।

त्यस्तै, प्रवक्ता बोहरा र उपाध्यक्ष शाहले खेलकुद क्षेत्रको विकास, खेलाडीको हौसला र आगामी सफलताका लागि गाउँपालिकाबाट सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

तर खेलाडीहरूका लागि सम्मानभन्दा ठूलो कुरा आगामी दिनमा सहज रूपमा खेल्न पाउने वातावरण निर्माण हुनु हो। प्रतियोगितामा सहभागी हुन भाडा नपाएर पैदल हिँड्नुपर्ने, आफ्नै खर्चमा पोसाक किन्नुपर्ने, प्रवेश शुल्क जुटाउन समस्या भोग्नुपर्ने र आवश्यक समन्वयसमेत नपाउने अवस्था फेरि दोहोरिनु हुँदैन भन्ने उनीहरूको संघर्षले देखाएको छ।

अब अर्को यात्राको तयारी
७ सदस्यीय यो टोलीको आत्मविश्वास अझै बढेको छ। कप्तान एलिनाकै नेतृत्वमा पुनः तिलागुफामा आयोजना हुने प्रतियोगितामा सहभागी हुने उनीहरूको तयारी छ। पहिलो यात्रामा भोगेका दुःख, मैदानमा देखाएको साहस र प्राप्त सफलताले उनीहरूलाई थप हौसला दिएको छ।

उनीहरूले जितेर ल्याएको उपाधि केवल खेलको जित होइन, सीमित स्रोतसाधन र सरकारी सहयोगको अभावबीच पनि ग्रामीण क्षेत्रका छोरीहरूले आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् भन्ने सन्देश हो।

रुप्साबाट लालिघाटसम्म पैदल हिँडेर सुरु भएको उनीहरूको यात्रा अब सम्मान र सफलताको कथामा परिणत भएको छ। अब प्रश्न एउटै हुन्छ कि ! यी छोरीहरूको संघर्षलाई गाउँपालिकाले सम्मानमा मात्र सीमित राख्छ कि आगामी दिनमा उनीहरूको खेल यात्राको बलियो सारथि पनि बन्छ?
भिडियो लिंक : https://youtu.be/obNn4xmGYfg


