आदर्श जंग शाही
१ मंसिर २०८३ कालिकोट । कर्णालीको मौलिक लोककला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित जि गाउँ एकता फाउन्डेशनद्वारा नरहरिनाथ गाउँपालिका-९, लालुमा आयोजित देउसी–भैलो कार्यक्रम विशेष सांस्कृतिक प्रस्तुतिका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रस्तुत गरिएको परम्परागत हुड्के नाचले स्थानीय नागरिक तथा युवापुस्ताको विशेष ध्यान आकर्षित गरेको छ।
फाउन्डेशनले आयोजना गरेको उक्त कार्यक्रममा दुई दिनसम्म लगातार हुड्के नाच प्रस्तुत गरिएको थियो। नरहरिनाथ गाउँपालिका-९ मा देउसी–भैलो कार्यक्रमको अवसरमा यसरी हुड्के नाच प्रस्तुत गरिएको यो पहिलो पटक भएको आयोजकले जनाएको छ।
परम्परागत रूपमा हुड्के नाचलाई निश्चित जाति तथा समुदायसँग मात्र जोडेर हेर्ने सामाजिक धारणालाई परिवर्तन गर्दै यो सम्पूर्ण जातजाति र समुदायको साझा सांस्कृतिक सम्पदा भएको सन्देश दिन फाउन्डेशनले कार्यक्रममै हुड्के नाचलाई विशेष प्राथमिकता दिएको हो।
हुड्के नाच कुनै एउटा जाति वा समुदायको मात्र पहिचान नभई सम्पूर्ण नागरिकले संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नुपर्ने मौलिक सम्पदा भएको फाउन्डेशनको धारणा छ। जातीय संकुचित सोचभन्दा माथि उठेर आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा सबैको समान सहभागिता हुनुपर्ने सन्देशसमेत कार्यक्रमले दिएको छ।
कार्यक्रममा हुड्के नाच प्रस्तुत गर्ने धर्मराज शाहीले गाउँघरमै आफ्नै घरआँगनमा हुड्के नाच प्रस्तुत गर्न पाउँदा छुट्टै प्रकारको अनुभूति भएको बताउनुभयो। यसअघि अरूले प्रस्तुत गरेको नाच दर्शकका रूपमा हेर्दै आएका आफूले यसपटक आफैँ सहभागी भएर नाच प्रस्तुत गर्दा निकै खुसी लागेको उहाँको भनाइ छ। अब आफ्नो मौलिक कला र संस्कृतिको संरक्षणका लागि आफैँ पनि सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो।
त्यस्तै, उहाँका सहकर्मी बिल्केश शाहीले पनि हुड्के नाचमा सहभागी हुँदा आफ्नो जीवनमा नयाँ र नौलो अनुभूति भएको बताउनुभयो। हुड्के नाच कुनै एउटा जाति वा समुदायको मात्र नभई सम्पूर्ण जातजाति र नागरिकले संरक्षण गर्नुपर्ने साझा सांस्कृतिक सम्पदा भएको उहाँको धारणा छ।
कार्यक्रममा नरहरिनाथ गाउँपालिका-९ का वडा अध्यक्ष प्रदीप बोहराले जि गाउँ एकता फाउन्डेशनले छोटो समयमै समाजमा निकै राम्रा तथा सकारात्मक कामहरू गर्दै आएको बताउनुभयो। स्थापना भएको केही समयमै संस्थाले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले संस्थाका गतिविधिप्रति स्थानीय स्तरमा राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताउनुभयो। यस्ता रचनात्मक तथा समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने कार्यक्रमले स्थानीय स्तरमा सामाजिक एकता र सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
यसैगरी, जि गाउँ एकता फाउन्डेशनका अध्यक्ष महेन्द्र बिर बिक्रम शाहीले गाउँमा बेरोजगार भएर बसेका तथा लागूऔषध दुर्व्यसनको जोखिममा रहेका युवाहरूलाई एकै ठाउँमा जोडेर सामाजिक, रचनात्मक तथा सकारात्मक गतिविधिमा सक्रिय बनाउने उद्देश्य संस्थाले लिएको बताउनुभयो।
उहाँका अनुसार फाउन्डेशनद्वारा आयोजित कला तथा संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत दुईदिने हुड्के नाच प्रस्तुत गरिएको हो। कार्यक्रमप्रति स्थानीय नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी दिनमा पनि यस्ता मौलिक सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने उहाँले बताउनुभयो।
त्यस्तै, फाउन्डेशनका मुख्य संयोजक आदर्श जङ्ग शाहीका अनुसार नरहरिनाथ गाउँपालिका- ९ मा देउसी-भैलो कार्यक्रममार्फत हुड्के नाच प्रस्तुत गरिएको यो पहिलो अवसर हो। कार्यक्रमले स्थानीय नागरिक तथा युवापुस्तामा सकारात्मक उत्साह सिर्जना गरेको र सामाजिक सञ्जालमा समेत हुड्के नाचका भिडियो तथा तस्बिरहरूले राम्रो चर्चा पाएको उहाँले बताउनुभयो।
उहाँले मौलिक कला तथा संस्कृतिलाई गाउँमा मात्र सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनुपर्नेमा जोड दिनुभयो। नयाँ पुस्तामा सांस्कृतिक चेतना र रुचि बढाउन आवश्यक तालिम, अभ्यास तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ।
दुई दिनसम्म सञ्चालन भएको हुड्के नाच तथा देउसी–भैलो कार्यक्रममा स्थानीय नागरिक, युवापुस्ता तथा दर्शकहरूको उल्लेखनीय सहभागिता र चासो देखिएको थियो। सामाजिक सञ्जालमा समेत कार्यक्रमका दृश्यहरू सार्वजनिक भएपछि विभिन्न स्थानबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेका छन्।
पछिल्लो समय आधुनिक मनोरञ्जनतर्फ आकर्षित भइरहेको युवापुस्ताले आफ्नै मौलिक कला–संस्कृतिप्रति चासो देखाउनु सकारात्मक पक्षका रूपमा हेरिएको छ। यसले हुड्के नाचको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ।
समग्रमा, जि गाउँ एकता फाउन्डेशनद्वारा आयोजित देउसी–भैलो कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरही मौलिक संस्कृति संरक्षण, जातीय एकता, सामाजिक सद्भाव र युवाको रचनात्मक सहभागिताको सन्देश प्रवाह गर्न सफल भएको छ।



