कमल कोपिला

३० जेष्ठ २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका-३ का राजकुमार विष्टका लागि गत चैत ३० गते जीवनकै सबैभन्दा खुसीको दिन बन्ने अपेक्षा थियो । श्रीमती भावना विष्ट दोस्रो सन्तान जन्माउने तयारीमा थिइन् । गाउँको विकटता छाडेर सुरक्षित सुत्केरी गराउने आशामा दम्पती सुर्खेत पुगेका थिए । तर नयाँ जीवनको स्वागत गर्ने सपना बोकेर अस्पताल पुगेको त्यो परिवार केही दिनमै शोकमा डुब्यो ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत २७ वर्षीया भावना विष्टको मृत्यु भएपछि अहिले उनको परिवार न्यायको खोजीमा भौतारिरहेको छ । घटनापछि सामाजिक विकास मन्त्रालय कर्णालि प्रदेशले ३ सदस्यीय छानबिन समिति गठन गरे पनि सार्वजनिक प्रतिवेदनप्रति मृतक परिवारले गम्भीर असन्तुष्टि जनाएको छ ।

१० वैशाख २०८३ मा मन्त्री घनश्याम भण्डारीको अध्यक्षतामा बसेको प्रदेश स्वास्थ्य समन्वय समितिको बैठकले स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी र मन्त्रालयका उपसचिव देवीप्रसाद पौडेल सदस्य थिए । समितिले हालै प्रतिवेदन बुझाए पनि मृतकका श्रीमान राजकुमार विष्टले उक्त प्रतिवेदनले वास्तविकता ढाकछोप गरेको आरोप लगाएका छन् । उनका अनुसार अस्पतालको चरम लापरबाहीलाई जोगाउन प्रतिवेदनलाई ‘क्षेत्राधिकार’ को बहानामा कमजोर बनाइएको छ ।

राजकुमारका अनुसार चैत ३० गते बिहान भावना विष्टलाई महिला तथा बालबालिका नगर अस्पताल सुर्खेत पुर्‍याइएको थियो । त्यहाँ जाँच गर्दा उनको रक्तचाप १६०/१०० पुगेको थियो भने हात, खुट्टा र अनुहार सुन्निएको अवस्था थियो । प्रारम्भिक उपचारपछि रक्तचाप केही नियन्त्रणमा आए पनि थप जोखिम देखिएपछि उनलाई दिउँसो ४ बजे कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो ।

प्रदेश अस्पतालमा भर्ना भएपछि चिकित्सकहरूले आकस्मिक शल्यक्रिया गरी शिशु जन्माएका थिए । प्रारम्भमा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको जानकारी परिवारलाई दिइएको थियो । तर त्यसपछि भने उपचार प्रक्रियामा गम्भीर कमजोरी भएको श्रीमान राजकुमारको आरोप छ ।

“सुरुमा सबै ठीक छ भनियो, तर बिरामीको अवस्था बिग्रिँदै जाँदा पनि चिकित्सकहरूले सामान्य रूपमा लिए,” राजकुमारले भने, “घण्टौँसम्म उचित निगरानी भएन, समयमै सही निर्णय पनि गरिएन ।” अस्पतालका अनुसार, पहिलो शल्यक्रियापछि भावनाको रक्तचाप नियन्त्रणमा आएन । मृगौलाले काम गर्न छाड्यो र रगतमा अक्सिजनको मात्रा घट्दै गयो । घाउको पट्टी रगतले भिजेपछि वैशाख २ गते दोस्रो पटक शल्यक्रिया गरिएको थियो ।

तर राजकुमारको दाबी अनुसार, दोस्रो शल्यक्रियाबारे परिवारलाई कुनै जानकारी दिइएन । “अप्रेशन गरिसकेपछि मात्रै झुक्याएर मञ्जुरीनामा गराइयो,” उनले भने, “भावनाको आँखामा रगत देखिएको थियो, त्यसमाथि सेतो टेप टाँसिएको थियो । त्यो किन भयो भन्ने जवाफ अहिलेसम्म कसैले दिएको छैन ।” उनले अस्पतालमा नियमित चिकित्सकीय निगरानीसमेत नभएको आरोप लगाएका छन् । “चैत ३० देखि वैशाख ४ गतेसम्म डाक्टरहरू नियमित राउन्डमा आएनन्,” उनले भने, “जब अवस्था नियन्त्रण बाहिर गयो, तब मात्रै केही सुधार भएको भन्दै काठमाडौं रिफर गरियो ।” अन्ततः वैशाख ४ गते भावना विष्टलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइयो । तर त्यहाँ पुगेलगत्तै उनको मृत्यु भयो ।

छानबिन समितिको प्रतिवेदनमा कर्णाली प्रदेशको स्वास्थ्य अवस्थाको चुनौती, दुर्गम भूगोल र पछिल्ला वर्षमा भएका मातृ मृत्युदरका तथ्याङ्क समेटिएको छ । तर पीडित परिवारको मुख्य चासो रहेको चिकित्सकीय लापरबाहीबारे भने समिति मौन देखिएको छ । प्रतिवेदनको बुँदा नम्बर १०.१ मा चिकित्सकीय लापरबाही तथा त्रुटिका विषयमा समिति प्रवेश गर्न नसकेको उल्लेख गरिएको छ । नेपाल मेडिकल काउन्सिल ऐनअनुसार चिकित्सकको आचारसंहिता र कारबाहीको विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै समितिले थप छानबिनका लागि सम्बन्धित निकायलाई सुझाव दिएको छ । प्रतिवेदनमा व्यवस्थापकीय सुधार, करारमा जनशक्ति भर्ना र अस्पताल व्यवस्थापन सुदृढीकरणका सुझाव दिइए पनि एउटा सुत्केरी महिलाको मृत्यु कसरी भयो भन्ने मूल प्रश्नको स्पष्ट उत्तर नआएको भन्दै परिवार आक्रोशित बनेको छ ।

“हामीलाई सुरुबाटै घटना ढाकछोप हुन्छ भन्ने शंका थियो,” राजकुमार विष्टले भने, “यो प्रतिवेदनले न्याय होइन, झन् पीडा दिएको छ । डाक्टरहरूको अनुपस्थिति, बिना जानकारी गरिएको दोस्रो शल्यक्रिया र ढिला गरिएको रिफर नै मेरी श्रीमतीको मृत्युको कारण हो ।” प्रदेशकै सबैभन्दा ठूलो र व्यस्त अस्पताल मानिने कर्णाली प्रदेश अस्पतालमा दुर्गमबाट उपचारका लागि आएका नागरिकले ज्यान गुमाउनु र त्यसपछि पनि न्याय नपाउनु गम्भीर विषय बनेको छ । भावना विष्टको मृत्युले कर्णालीको स्वास्थ्य प्रणालीमाथि फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ । भावना अब फर्किने छैनन् । तर उनका श्रीमान राजकुमार विष्टको आँखामा उब्जिएका प्रश्न, न्यायको खोजी र जिम्मेवार निकायप्रतिको अविश्वास भने अझै जीवित छन् ।

प्रतिवेदनः https://link.camscanner.com/3Kl8jjb10l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS