कमल कोपिला
२३ जेष्ठ २०८३ कालिकोट । काठमाडौंमा आयोजित कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव – २०८३ भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवले कर्णालीको अनुपम प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, भाषा, साहित्य, कला र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।


नरहरिनाथ गाउँपालिका कालिकोटका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको अध्यक्षता तथा पूर्व उपप्रधानमन्त्री, गृह तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न महोत्सवमा कर्णालीका १० वटै जिल्लाका मौलिक सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। देउडा, झोडा, हुड्के नाच, मयुर नाचलगायतका सांस्कृतिक प्रस्तुतिले कर्णालीको जीवित पहिचानलाई उजागर गरेका थिए।



महोत्सवमा रारा ताल, शे-फोक्सुण्डो, काँक्रेविहार, देउती बज्यै, दैलेखको ज्वालामुखीलगायत कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यका तस्बिर तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी राखिएको थियो। कर्णालीको प्राकृतिक सम्पदा र सांस्कृतिक विविधतालाई एउटै मञ्चबाट विश्वसामु चिनाउने प्रयास महोत्सवको मुख्य आकर्षण बनेको थियो।


राष्ट्रियस्तरका चर्चित कलाकारहरू राजु परियार, रामजी खाँड, महेन्द्र शाही रास्कोटी, ईब्सल संज्याल, बिपना सिंह र संगिता बडुवाल लगायतको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।


सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले “नेपालको समृद्धिको आधार कर्णालीको समृद्धि हो” भन्दै कर्णालीको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कर्णालीलाई वास्तविक रूपमा बुझ्न कर्णाली पुग्नैपर्ने उल्लेख गर्दै भौगोलिक विकटता र राज्यको सीमित पहुँचका कारण यस क्षेत्र पछाडि परेको बताउनुभयो।


महोत्सवले कर्णालीलाई नेपालको दुर्गम भूगोलका रूपमा नभई सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा र अपार सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने सशक्त सन्देश दिएको छ। राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनको साझा उद्देश्य बोकेको यो महोत्सव कर्णालीलाई विश्व पर्यटन मानचित्रमा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।





आज सप्पन्न सो महोत्सवको आयोजना कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र कर्णाली कलाकार प्रतिस्ठान काठमाडौले गरेका हुन भने कार्यक्रमको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिनुभयो ।









