- कमल कोपिला/शिशिर बिष्ट/कमल बिष्ट

२२ जेष्ठ २०८३ कालिकोट । आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन ५ मा मनाइने यो दिवस वातावरण संरक्षणप्रति विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् १९७३ देखि मनाउन थालिएको हो । यसको ऐतिहासिक पृष्ठभूमिअनुसार, सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघले आयोजना गरेको विश्व वातावरण सम्मेलनपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गर्दै पहिलो पटक ५ जुन १९७३ मा विश्व वातावरण दिवस मनाइएको थियो ।

यस वर्ष संयुक्त राष्ट्रसंघले “प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्” भन्ने नारा तय गरेको छ भने नेपाल सरकारले “प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” भन्ने राष्ट्रिय नारा सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित रहेको छ । यसले प्लाष्टिकजन्य फोहोरदेखि माइक्रोप्लाष्टिकसम्मका असरहरूलाई उजागर गर्दै प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र वैकल्पिक उपाय अपनाउने सन्देश प्रवाह गर्दछ ।

यसै अवसरमा कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । गाउँपालिकाको आयोजना तथा किर्डाक नेपाल कालिकोट, आईएनएफ नेपाल र सहास नेपालको सहयोग तथा समन्वयमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन् ।

नरहरिनाथ गाउँपालिका वडा नं. २ मा रहेको नन्दादेवी बहुमुखी क्याम्पस र श्री नन्दादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा स्थानीय वातावरणअनुकूल तथा उपयोगी मानिएका ओखर, काफल, लालीगुराँस, उतिस, बेइस र बकैनो लगायतका बिरुवा रोपिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय तथा क्याम्पसका शिक्षक, विद्यार्थी, बुद्धिजीवी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम सफल बनाउन किर्डाक नेपाल कालिकोट, आईएनएफ नेपाल र सहास नेपालले प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरेका थिए ।

बढ्दो वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न यस्ता वृक्षारोपण कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS