कमल कोपिला
१५ जेष्ठ २०८३ कालिकोट । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका मेहलमुडि कालिकोटमा “स्थानिय दायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित “पूर्ण खोप सुरक्षित भविष्य, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम” सम्पन्न भएको छ ।

कार्यक्रम पालिका खोप समन्वय समितिका संयोजक तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवनाथ योगिको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रुपमा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिका रुपमा इलाका प्रशासन कार्यालय राष्कोटका कार्यालय प्रमुख नवराज बम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जनस्वास्थ्य अधिकृत मोर्चा शाही, पारस पोखरेल, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, धामीझाँक्री, ज्येष्ठ नागरिक, बाल क्लब तथा युवा क्लबका प्रमुख तथा प्रतिनिधिको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप सुनिश्चित गर्नु, खोपबाट रोकथाम गर्न सकिने रोगहरुको नियन्त्रण तथा उन्मूलन गर्नु, दुर्गम तथा पिछडिएको समुदायसम्म खोप सेवाको पहुँच विस्तार गर्नु, खोप कार्यक्रमको गुणस्तर सुधार तथा नियमित अनुगमन गर्नु, खोप सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु तथा अभिभावकको सहभागिता बढाउनु रहेको आयोजकले जनाएको छ । साथै खोप सेवामा देखिएका समस्या तथा चुनौतीहरुको पहिचान गरी समाधानका उपाय तय गर्ने, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाबीच समन्वय र सहकार्य सुदृढ गर्ने तथा आगामी कार्ययोजना तय गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको बताइएको थियो ।

पूर्ण खोप भन्नाले १५ महिनाभित्र राष्ट्रिय खोप तालिका अनुसार बीसीजी १ मात्रा, रोटा २ मात्रा, डीपीटीहेप बी-हिब ३ मात्रा, पोलियो ३ मात्रा, एफआईपीभी २ मात्रा, पिसिभी ३ मात्रा, जेई १ मात्रा, दादुरा-रुबेला २ मात्रा तथा टाइफाइड १ मात्रा खोप प्राप्त गरेको बालबालिकालाई बुझिने जनाइएको छ ।

कार्यक्रममा हरेक बालबालिकाले जन्मपश्चात खोप सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएको, नेपालको संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप पहिलो आधारभूत सेवा भएको तथा जनस्वास्थ्य ऐनको सूचिमा समेत रहेको उल्लेख गरिएको थियो । साथै नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताको कार्यान्वयन तथा प्राप्त उपलब्धि कायम राख्न पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।

पूर्ण खोप दिगोपना पालिका घोषणा पूर्व गाउँपालिकाले विभिन्न तयारी तथा क्रियाकलापहरु सञ्चालन गरेको जनाएको छ । २०८२ साल साउनको पहिलो सातामा खोप केन्द्रस्तरीय सूक्ष्म योजना गोष्ठी सञ्चालन गरी खोपको सूक्ष्म योजना तयार गरिएको, पालिकास्तरीय अर्धवार्षिक तथा वार्षिक समीक्षा गोष्ठी सञ्चालन गरिएको, टोल तथा बस्तीस्तरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी घरधुरी सर्वेक्षण गरिएको, स्वास्थ्य संस्था स्तरमा तथ्यांक प्रमाणीकरण गरिएको तथा खोप छुटेका बालबालिकालाई २०८३ वैशाख १५ गते खोप प्रदान गरिएको जानकारी दिइएको थियो । साथै पालिकास्तरमा नमुना सर्वेक्षण गरी सबै ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको जनाइएको छ ।

गाउँपालिकाको स्वास्थ्य तथ्यांक अनुसार कुल जनसंख्या १३ हजार ५ सय ७९ रहेको छ । अनुमानित जीवित जन्म संख्या ३ सय ३२, १२ देखि २३ महिनासम्मका बालबालिका ३ सय २४, पाँच वर्षमुनिका बालबालिका १ हजार ५ सय ५७, १५ देखि ४९ वर्षसम्मका विवाहित महिला २ हजार ७ सय १ तथा अनुमानित गर्भवती संख्या ३ सय ९१ रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । गाउँपालिकामा १ आधारभूत अस्पताल, ३ स्वास्थ्य चौकी, ३ सामुदायिक स्वास्थ्य इकाई, ११ खोप क्लिनिक तथा २९ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

त्यसैगरी २०८२/०८३ का सूचक अनुसार बीसीजी १०९, डीपीटीहेप बी-हिब १ संख्या १४३, ओपिभी ३ संख्या १६१, पिसिभी ३ संख्या १२६, रोटा २ संख्या १५२, एफआईपीभी १ संख्या १६०, जेई १२१, दादुरा-रुबेला २ संख्या ९९ तथा टीडी २ र २+ संख्या १०७ रहेको जानकारी दिइएको थियो । २३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका ९९ जना रहेको तथा डीपीटी–हेप बी १ र दादुरा–रुबेलाबीचको ड्रपआउट दर ३० दशमलव ७७ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । ० देखि १५ महिनासम्मका बालबालिकाको लाइन लिस्टिङ सबै वडामा १९४ तथा १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप सर्वेक्षण गर्दा सबै वडामा ४९७ बालबालिका समेटिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले अब पनि खोप सेवा प्रवाहलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले हालसम्म योगदान गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै विशेष अतिथि इलाका प्रशासन कार्यालय राष्कोटका कार्यालय प्रमुख नवराज बमले पुर्खाले अपनाएका परम्परागत अभ्यासलाई आधुनिकिकरण गर्न नसक्दा अहिलेको अवस्था भोग्नुपरेको उल्लेख गर्दै छोटो समयमा स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।

प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सफल भएकोमा गाउँपालिकालाई बधाई ज्ञापन गर्नुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिन अझै चुनौतीहरु रहेको उल्लेख गर्दै समाधानतर्फ अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवनाथ योगिले स्वास्थ्य नै जीवनको आधार भएकाले सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सामूहिक प्रतिबद्धताका लागि हस्ताक्षर संकलन गरिएको थियो भने मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । सो कार्यक्रमका बिच सान्नित्रीवेणिमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।

सान्नित्रिवेणी गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले सबै खोप सेवा प्राप्त गरेको सुनिश्चित गर्ने, खोप सुनिश्चितताका लागि पालिका, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा समुदायसँग समन्वय गर्ने, कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिने तथा नियमित खोप कार्यक्रमलाई दिगो बनाउन समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहने प्रतिबद्धता जनाएको छ । साथै पूर्ण खोप सुनिश्चिततालाई गाउँपालिकाको वार्षिक कार्ययोजनामा समावेश गरी निरन्तरता दिइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS