कमल कोपिला
३० जेठ २०८३, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा युवाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सकारात्मक सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ३ दिने “युवा रूपान्तरणका लागि सहजीकरण तालिम” सुरु गरिएको छ ।
फास्टेन एक्सनको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय तथा सहकर्मी समाजद्वारा सञ्चालित सम्मान परियोजनाको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन कार्यक्रम नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले युवाहरू समाज परिवर्तनका प्रमुख संवाहक भएकाले उनीहरूको क्षमता विकासमा केन्द्रित यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागी युवाहरूलाई आग्रह गर्नुभयो ।
तालिममा सहकर्मी समाजको सम्मान परियोजनाका संयोजक आकाश तिवारी, स्थलगत परियोजना संयोजक रेखा भट्टराई तथा टिम लिडर विमलराज बि.क.ले विभिन्न विषयमा सहजीकरण गरिरहनुभएको छ । कार्यक्रम सञ्चालन तथा सहजीकरण सामुदायिक प्रशिक्षक मान बहादुर बि.क.ले गर्नुभएको छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा नरहरिनाथ गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालयबाट छनोट भएका ९ जना छात्रा र ५ जना छात्र गरी १४ जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।
तालिममा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, जीवन उपयोगी सीप, लैङ्गिक समानता, बालअधिकार तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।
तालिमको मुख्य उद्देश्य युवाहरूलाई विभेद पहिचान गर्न, त्यसलाई चुनौती दिन र समुदायमा सकारात्मक भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ । साथै समावेशीकरण प्रवर्द्धन गर्दै विभेद न्यूनीकरणमा योगदान पुर्याउने युवा परिवर्तनकारीहरूको विकास गर्नु पनि कार्यक्रमको लक्ष्य रहेको छ ।
सहकर्मी समाजको सम्मान परियोजनाका संयोजक आकाश तिवारीका अनुसार तालिममार्फत सहभागी युवाहरूको बुझाइमा सुधार, व्यवहारिक सीप विकास तथा सकारात्मक सोच र व्यवहारको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । जिम्मेवार, सचेत र नेतृत्वदायी नागरिकका रूपमा युवाहरूलाई विकास गर्दै समुदायमा सकारात्मक परिवर्तनको आधार तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।








