कमल कोपिला
२३ जेष्ठ २०८३ कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ बजेरीचौर क्षेत्रमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका छन् ।


प्रहरीका अनुसार नाग्माबाट बजेरीचौरतर्फ गइरहेको से २ त ३४३५ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको अर्को ट्याक्टरलाई साइड दिने क्रममा अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल खसेको हो । दुर्घटना दिउँसो करिब १२ः४० बजे भएको बताइएको छ ।
दुर्घटनामा जुम्लाको चन्दननाथ नगरपालिका-९ निवासी २४ वर्षीय चालक भक्तबहादुर सुनार गम्भीर घाइते भएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी ट्याक्टरमा सवार डडेलधुराको अमरगढी नगरपालिका-८ निवासी ३५ वर्षीय नरेश पाण्डे पनि गम्भीर घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनापछि प्रहरी सहायक निरीक्षक वीरसिंह रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









