- कमल कोपिला/शिशिर बिष्ट/कमल बिष्ट

२० जेष्ठ २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाका वडा नं. १ देखि ४ सम्मका चार वटा टोललाई सम्बन्धित वडाकै पहिलो ‘पूर्ण सरसफाइ उन्मुख टोल’ घोषणा गरिएको छ। प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपाल कालिकोटको सहयोग तथा समन्वयमा टोल विकास समितिहरूले सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न सूचक पूरा गरेपछि ती टोलहरूलाई औपचारिक रूपमा घोषणा गरिएको हो।

सफा र स्वच्छ समुदाय हाम्रो पहिचान, पूर्ण सरसफाइयुक्त टोल हाम्रो अभियान” भन्ने मूल नारासहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गरेको छ। किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सशक्त बालिका परियोजना तथा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा वडा नं. १ देखि ४ सम्मका ४ टोललाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्य राखिएको छ।

पूर्ण सरसफाइ अभियान अन्तर्गत प्रत्येक घरमा सफा तथा सुगन्धित शौचालयको प्रयोग, व्यक्तिगत तथा महिनावारी सरसफाइ, सुरक्षित हात धुने स्थानको व्यवस्था, सुरक्षित खानेपानी र खाद्यान्नको प्रयोग, घरआँगन तथा भान्साको नियमित सरसफाइ, सार्वजनिक स्थलहरूको सफाइ तथा जैविक-अजैविक फोहोरको सुरक्षित व्यवस्थापन जस्ता सूचकहरूलाई प्राथमिकता दिइएको छ।

चौथिकोट टोल : वडा नं. १ को पहिलो पूर्ण सरसफाइ उन्मुख टोल

चौथिकोट टोललाई वडा नं. १ को पहिलो पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ। टोल विकास समितिको आयोजनामा तथा प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपाल कालिकोटको सहयोगमा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वडा नं. १ का अध्यक्ष जगत बहादुर बिष्टले दुर्गम क्षेत्रका बस्तीहरूमा पूर्ण सरसफाइका मापदण्ड पूरा गर्न चुनौतीपूर्ण भए पनि चौथिकोटले उदाहरणीय काम गरेको बताउनुभयो। उहाँले भन्नुभयो,“दुर्गम क्षेत्रका धेरै बस्तीहरू अझै पूर्ण सरसफाइ घोषणा हुन सकेका छैनन्। यस्तो अवस्थामा चौथिकोट टोलले विभिन्न सूचक पूरा गरेर वडाकै पहिलो पूर्ण सरसफाइ उन्मुख टोल बन्न सफल हुनु गौरवको विषय हो। अब अन्य टोलहरूले पनि यसबाट प्रेरणा लिनुपर्छ।”

उहाँले स्थानीय सरकार सरसफाइ अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।


कोटवाडाको लामापहडा टोल : वडा नं. २ मा सरसफाइ अभियानको नयाँ उदाहरण

लामापहडा टोललाई वडा नं. २ को पहिलो पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ।

टोलस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिका अध्यक्ष मान बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष प्रेम बिष्ट प्रमुख अतिथि रहनुभएको थियो भने वडा नं. १ का अध्यक्ष जगत बहादुर बिष्ट विशेष अतिथि रहनुभएको थियो। वडा अध्यक्ष प्रेम बिष्टले समुदायको सक्रिय सहभागिताविना सरसफाइ अभियान सफल हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो,“लामापहडा टोलले सरसफाइ, स्वास्थ्य र स्वच्छ वातावरण निर्माणमा उदाहरणीय अभ्यास गरेको छ। यो उपलब्धि एउटा टोलको मात्र होइन, सम्पूर्ण वडाको उपलब्धि हो। अब वडा नं. २ का अन्य टोलहरूलाई पनि पूर्ण सरसफाइ उन्मुख बनाउने अभियानलाई तीव्र बनाइनेछ।”

कार्यक्रममा हुड्केली नाच, देउडा खेल तथा अन्य सांस्कृतिक प्रस्तुति मार्फत सरसफाइ सम्बन्धी जनचेतना समेत फैलाइएको थियो।


कुमालगाउँ टोल : वडा नं. ३ को पहिलो सरसफाइ उन्मुख टोल

कुमालगाउँ टोललाई वडा नं. ३ को पहिलो सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ। टोल विकास समितिका अध्यक्ष तुल्छा बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष कटक बहादुर बुढा प्रमुख अतिथि रहनुभएको थियो। वडा अध्यक्ष कटक बहादुर बुढाले सरसफाइ अभियानलाई केवल कार्यक्रमको रूपमा नभई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,“पूर्ण सरसफाइ भनेको केवल शौचालय निर्माण मात्र होइन, व्यवहार परिवर्तनको अभियान हो। कुमालगाउँले सरसफाइका विभिन्न सूचक पूरा गरेर उदाहरण प्रस्तुत गरेको छ। अब यसलाई दिगो बनाउन सबै नागरिकको निरन्तर सहभागिता आवश्यक छ।”

उहाँले वडा स्तरमा सरसफाइ र स्वच्छ खानेपानी सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।


माथिल्लो अदेला टोल : वडा नं. ४ को पहिलो पूर्ण सरसफाइ उन्मुख टोल

माथिल्लो अदेला टोललाई वडा नं. ४ को पहिलो पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ। टोल विकास संस्थाका अध्यक्ष मन बहादुर सहकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष नन्दराम सहकारी प्रमुख अतिथि रहनुभएको थियो।

वडा अध्यक्ष नन्दराम सहकारीले माथिल्लो अदेला टोलले सरसफाइ र सामुदायिक सचेतनाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले भन्नुभयो,“माथिल्लो अदेला टोल अन्य टोलको तुलनामा सफा र व्यवस्थित देखिएको छ। स्थानीय समुदायको सक्रियता र सामूहिक प्रयासका कारण यो उपलब्धि सम्भव भएको हो। आगामी दिनमा वडाका सबै टोललाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्यका साथ काम अगाडि बढाइनेछ।”

कार्यक्रममा हुड्केली नाच, देउडा खेल तथा एकल नृत्य प्रस्तुत गरी स्थानीय संस्कृति संरक्षणसँगै सरसफाइ सन्देश प्रवाह गरिएको थियो।

किर्डाक नेपाल कालिकोटका कार्यक्रम अधिकृत हिमाल आचार्यका अनुसार सशक्त बालिका परियोजना नरहरिनाथका सबै वडामा सञ्चालन भए पनि सरसफाइसँग सम्बन्धित कार्यक्रम विशेष गरी वडा नं. १ देखि ४ सम्म केन्द्रित गरिएको छ। उहाँका अनुसार, पूर्ण सरसफाइका अधिकांश सूचक पूरा भए पनि सुरक्षित खानेपानीको प्रयोग अझै चुनौतीका रूपमा रहेको छ। कतिपय सरकारी तथा गैरसरकारी कार्यालयहरूमा समेत सुरक्षित खानेपानीको प्रयोग पूर्ण रूपमा सुनिश्चित हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रमहरूमा सहभागी जनप्रतिनिधि, महिला स्वयंसेविका, पत्रकार, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूले पूर्ण सरसफाइ अभियानलाई सफल बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर समेत संकलन गरेका छन्। स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूको संयुक्त प्रयासले नरहरिनाथ गाउँपालिकालाई क्रमशः पूर्ण सरसफाइयुक्त पालिका बनाउने लक्ष्यतर्फ महत्वपूर्ण आधार तयार भएको सरोकारवालाहरूको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS