कालिकोट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको सुरुमा प्रारम्भ भएको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारिएको अमेरिका-इरान सम्झौताको मस्यौदामा थप संशोधन गर्न माग गरेका छन् ।  अमेरिकी सञ्चारमाध्यमका अनुसार यो पछिल्लो संशोधन विशेष गरी स्ट्रेट अफ होर्मुज र उच्च संवर्द्धित युरेनियम हटाउने विषयसँग सम्बन्धित रहेको छ । ह्वाइट हाउसले भने यस विषयमा आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।यसैबिच इरानका मुख्य वार्ताकार मोहम्मद बगेर घालिबाफले आइतबार तेहरानले इरानी अधिकारहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने प्रस्ट पारेका छन् । इरानसँगको युद्धविरामको म्याद थप गर्ने खाकाका बारेमा अन्तिम निर्णय लिन राष्ट्रपति ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूबिच गत शुक्रबार बैठक बसेको थियो, तर आगामी कदमका बारेमा कुनै स्पष्ट निर्णय नभई उक्त बैठक सकिएको थियो ।

प्रस्तावित सम्झौताको पछिल्लो मस्यौदामा ६० दिनका लागि हिंसा अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानको आणविक कार्यक्रमका बारेमा पुनः वार्ता सुरु गर्ने खाका समावेश गरिएको छ । यदि कूटनीतिक प्रयास सफल भएमा यो सम्झौताअन्तर्गत इरानमाथिका केही प्रतिबन्धहरू हट्न सक्नेछन्, जसका कारण उसले रोक्का गरिएका अर्बौँ डलरका सम्पत्तिमा पहुँच पाउनेछ । महिनौँ लामो युद्ध अन्त्य गर्ने उद्देश्यले ह्वाइट हाउस र तेहरानबिच दिनहुँ भइरहेको सघन वार्ताको शृङ्खलामा आइतबार माग गरिएको संशोधन तेस्रो चरणको परिवर्तन हो । यसअघि गत बिहीबार अमेरिकी अधिकारीहरूले दुवै देश सम्झौताको प्रारम्भिक खाका अर्थात् समझदारी पत्रमा सहमत भइसकेको र यसलाई ट्रम्प तथा इरानी नेतृत्वको स्वीकृति आवश्यक रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले फक्स न्युजमा आफ्नी बुहारी लारा ट्रम्पसँगको अन्तर्वार्तामा इरानले आणविक हतियार नबनाउने ग्यारेन्टी आफूलाई चाहिने र यसमा उनीहरू सहमत भएको उल्लेख गरेका थिए ।

यद्यपि उनले सम्झौताका लागि आफूलाई कुनै हतार नभएको पनि बताएका थिए । शुक्रबारको महत्त्वपूर्ण बैठकअघि ट्रम्पले आफू सम्झौता स्वीकार गर्ने पक्षमा रहेको सङ्केत दिएका थिए, तर बैठकपछि ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति ट्रम्पले अमेरिकाको हितमा हुने र उनका सर्तहरू पूरा हुने सम्झौता मात्र गर्ने स्पष्ट पार्दै इरानले कहिल्यै पनि आणविक हतियार राख्न नपाउने अडान दोहोर्‍याए । उक्त बैठकमा ट्रम्पले धेरै वटा संशोधनका बुँदाहरू अघि सारेका थिए र त्यसयता पनि उनले थप परिवर्तनको माग गरिरहेका छन् ।यसैबिच सिङ्गापुर भ्रमणमा रहेका अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको सम्झौता राष्ट्रपतिको अपेक्षाअनुसार नभएमा पुनः सैन्य आक्रमण सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले अमेरिकासँग त्यस क्षेत्र र विश्वभरि नै पर्याप्त मात्रामा अत्याधुनिक युद्ध सामग्री र हतियारको भण्डार तयारी अवस्थामा रहेको दाबी गरे ।

तर इरानी अधिकारीहरूले भने ह्वाइट हाउसको यो सन्देशमाथि शङ्का व्यक्त गरेका छन् । इरानी विदेश मन्त्री अब्बास अराघचीले कुनै स्पष्ट निष्कर्षमा नपुगेसम्म अहिले भइरहेका सबै कुराहरू केवल अड्कलबाजी मात्र भएको टिप्पणी गरेका छन् । सम्झौताको पाठमा दुवै पक्षले नियमित रूपमा संशोधन प्रस्ताव गरिरहेकाले छलफल अझै जारी रहेको बताइएको छ । इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस कुराकानी अघि बढाउनुअघि रोक्का गरिएको सम्पत्ति फुकुवा हुनुपर्ने माग राखेको छ । यस वार्तामा पाकिस्तानले अमेरिका र इरानका अधिकारीहरूबिच मध्यस्थता गरिरहेको छ । गत अप्रिल ८ देखि युद्धविराम लागू भएयता ट्रम्पले अमेरिका र इरान सम्झौताको नजिक पुगेको र वार्ता सकारात्मक दिशामा अघि बढेको बताउँदै आए पनि अहिलेसम्म कुनै औपचारिक सम्झौता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS