कमल कोपिला
२९ असार २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा ७ वर्षभन्दा बढी समयदेखि सञ्चालित आईएनएफ नेपालको सामुदायिक उत्थानशील तथा विकास परियोजना लगायतका परियोजना औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

परियोजनाको समापनसँगै आयोजित ‘परियोजना हस्तान्तरण तथा फेरि भेटौँला’ कार्यक्रममा विगत ७ वर्ष ६ महिनामा हासिल भएका उपलब्धि, सिकाइ, चुनौती तथा आगामी जिम्मेवारीबारे विस्तृत समीक्षा गरिएको थियो।

अस्ट्रेलियन एड र इन्टरनेशनल नेपाल अस्ट्रेलियाको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय तथा आईएनएफ नेपाल कालिकोट शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला परियोजना संयोजक दल बुढाको अध्यक्षता, गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलकुमार शाहको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका नौवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी, स्वावलम्बन समूहका प्रतिनिधि, सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा परियोजना संयोजक दल बुढाले परियोजनाको सुरुदेखि अन्तिम अवस्थासम्म सम्पन्न भएका गतिविधि तथा उपलब्धिको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार परियोजनाले नरहरिनाथ गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन, जीविकोपार्जन, कृषि, पशुपालन, महिला सशक्तीकरण, स्वास्थ्य, सरसफाइ, शिक्षा, अपाङ्गता समावेशीकरण तथा स्थानीय संस्थागत क्षमता विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ।उहाँले परियोजनामार्फत ९० वटा स्वावलम्बन समूह गठन गरी समुदायलाई संगठित बनाइएको, ती समूहमार्फत नियमित बचत, ऋण परिचालन, आपत्कालीन कोष सञ्चालन तथा अन्न संकलन अभियानलाई संस्थागत गरिएको जानकारी दिनुभयो। परियोजनाले स्थानीय तहमा विपद् व्यवस्थापन प्रणाली सुदृढ बनाउन स्थानीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माण, वडा तहमा विपद् जोखिम प्रोफाइल तयार, आपत्कालीन सञ्चालन केन्द्र स्थापना तथा स्थानीय आपत्कालीन कोष सञ्चालनमा प्राविधिक सहयोग प्रदान गरेको पनि उहाँले बताउनुभयो।

परियोजनाअन्तर्गत समुदायका सयौं नागरिकलाई विपद् व्यवस्थापन, प्राथमिक उपचार, नेतृत्व विकास, लघुउद्यम, कृषि आधुनिकीकरण, बाख्रापालन, होटल व्यवसाय, हाते बुनाइ, तरकारी खेती, जैविक विषादी निर्माण, सिँचाइ व्यवस्थापन, पशुपालन, बचत तथा ऋण परिचालन, लैङ्गिक समानता, कानुनी सचेतना, महिनावारी स्वच्छता, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी विभिन्न तालिम प्रदान गरिएको थियो। कृषि तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत व्यवसायिक तरकारी खेती, प्लास्टिक टनेल, थोपा सिँचाइ, प्लास्टिक ड्रम, बिउ, गार्डेन पाइप, सिँचाइ कुलो, पानी पोखरी, फलफूलका बिरुवा, गोठ सुधार, कुखुरा तथा बाख्रा पालन, डेरी सञ्चालन, च्याउ खेती, स्थानीय उद्योग प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिएका थिए। परियोजनाले ग्रामीण महिलालाई आयआर्जनसँग जोड्दै आर्थिक आत्मनिर्भरता बढाउन विशेष जोड दिएको थियो।

विपद् जोखिम न्यूनीकरणतर्फ गाउँपालिकाका विभिन्न स्थानमा ग्याविन जाली निर्माण, नर्सरी स्थापना, पहिरो नियन्त्रण, खानेपानी मर्मत, बाटो सुधार, प्राथमिक उपचार सामग्री वितरण तथा विपद् तयारी सम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयमा विपद् शिक्षा, प्राथमिक उपचार, हाजिरीजवाफ प्रतियोगिता तथा चित्रकला कार्यक्रमसमेत आयोजना गरिएको थियो। स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा व्यक्तिगत सरसफाइ, मातृशिशु स्वास्थ्य, महिनावारी स्वच्छता, सुरक्षित खानेपानी, वातावरण संरक्षण तथा प्लास्टिकमुक्त अभियान सञ्चालन गरिएको थियो। समुदायमा हजारौं डस्टबिन वितरण, कुहिने तथा नकुहिने फोहोर व्यवस्थापन, भाँडा सुकाउने चाङ निर्माण, शौचालय मर्मत तथा निर्माण, खानेपानी फिल्टर वितरण, विश्व वातावरण दिवस, सरसफाइ दिवस तथा विश्व स्वास्थ्य दिवस मनाउने कार्यक्रमले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याएको परियोजनाको दाबी छ। अपाङ्गता भएका व्यक्ति, विपन्न परिवार तथा जोखिममा परेका नागरिकलाई सहायक सामग्री, उपचार खर्च, खाद्यान्न, कम्बल, जस्तापाता तथा अन्य राहत सामग्री उपलब्ध गराइएको थियो। साथै महिलाको नेतृत्व विकास, आर्थिक पहुँच विस्तार तथा बैंकिङ सेवामा पहुँच वृद्धि गर्न पनि परियोजनाले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

परियोजनाको उपलब्धि प्रस्तुत गर्दै संयोजक बुढाले २ हजार १२७ घरधुरी प्रत्यक्ष लाभान्वित भएको, अधिकांश परिवारमा करेसाबारी विकास भएको, जलवायुमैत्री कृषि अभ्यास बढेको, आयआर्जनमा सुधार आएको, महिला नेतृत्वमा वृद्धि भएको, सुरक्षित खानेपानीको प्रयोग बढेको तथा समुदायमा विपद् व्यवस्थापनको क्षमता उल्लेखनीय रूपमा सुदृढ भएको जानकारी दिनुभयो। कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत शान्ती कार्कीले आईएनएफ नेपालको योगदानको उच्च प्रशंसा गर्दै परियोजनाले विकासका नयाँ आधार तयार गरेको बताउनुभयो। वडा नं. ३ का अध्यक्ष कटकबहादुर बुढाले समुदायको क्षमता विकास तथा आर्थिक रूपान्तरणमा परियोजनाले खेलेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्नुभयो। सहभागी प्रदीप बोहोराले महिलाको आर्थिक सशक्तीकरणमा परियोजनाले ठूलो परिवर्तन ल्याएको भए पनि उपलब्धिको दिगोपनामा सबै पक्ष सचेत हुनुपर्ने धारणा राख्नुभयो। विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले विगतका सहकार्य स्मरण गर्दै अब परियोजनाबाट सिर्जना भएका संरचना, कार्यक्रम तथा उपलब्धिको संरक्षण र निरन्तरताको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले आईएनएफ नेपालले नरहरिनाथको समग्र विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै परियोजनाबाट स्थापना भएका संस्था, संरचना तथा कार्यक्रमलाई दिगो बनाइने बताउनुभयो। उहाँले गाउँपालिकाले आवश्यक बजेट, नीति तथा कार्यक्रममार्फत उपलब्धिको संरक्षण गर्ने र भविष्यमा पनि विकास साझेदार संस्थासँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको अन्त्यमा नरहरिनाथ गाउँपालिकाले आईएनएफ नेपाल तथा परियोजनामा कार्यरत सम्पूर्ण कर्मचारीलाई सम्मानपत्र, दोसल्ला प्रदान गरी सम्मान गरेको थियो। सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले पनि परियोजनामा योगदान पुर्‍याउने कर्मचारी तथा संस्थालाई सम्मान गरेको थियो। समापन मन्तव्यका क्रममा जिल्ला परियोजना संयोजक दल बुढाले नरहरिनाथसँग आईएनएफ नेपालको सम्बन्ध परियोजनासँगै समाप्त नभई भावनात्मक रूपमा निरन्तर रहने बताउँदै भविष्यमा पनि अवसर मिले सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।

७ वर्ष ६ महिनाको अवधिमा सञ्चालन भएको यस परियोजनाले विपद् व्यवस्थापन, जलवायु अनुकूलन, स्वास्थ्य, सरसफाइ, जीविकोपार्जन, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै नरहरिनाथ गाउँपालिकामा दीर्घकालीन विकासको आधार तयार गरेको सहभागीहरूको निष्कर्ष रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS