कमल कोपिला/कमल बिष्ट
९ असार २०८३, कालिकोट।


जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ३ निवासी धिरबहादुर वि.क.की श्रीमती जैपुरा वि.क.लाई राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको छ।
योगी नरहरिनाथ आधारभूत अस्पतालमा ६ महिनाको गर्भावस्थामै सुत्केरी भएकी जैपुरा वि.क.ले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरीपश्चात उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि तत्काल विशेषज्ञ उपचार आवश्यक देखिएको थियो।
नरहरिनाथ गाउँपालिकाको पहल तथा जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उनलाई हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
हाल प्रदेश अस्पताल सुर्खेतमा उनको थप उपचारको लागि पठाइएको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बतउनुभयो। दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा गर्न सञ्चालन गरिएको यस कार्यक्रमले समयमै उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ।









