कमल कोपिला/कमल बिष्ट
२४ असार २०८३, कालिकोट।
आई एन एफ नेपाल कालिकोट शाखाको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वयमा सञ्चालित ‘विपद् जोखिम तथा जलवायु परिवर्तन विरुद्ध अनुकूलन क्षमतामा सशक्तीकरणद्वारा उत्थानशील समुदाय निर्माण गर्ने (BREAD)’ परियोजनाको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम आई एन एफ नेपाल कालिकोट शाखाका संयोजक दल बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही प्रमुख अतिथि, उपाध्यक्ष अल्किना बम तथा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्वावलम्बन समूहका सदस्य तथा नमुना कृषि फार्मका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा परियोजनाले हालसम्म हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरिएको थियो। परियोजनाअन्तर्गत गाउँपालिकामा स्थानीय आपत्कालीन सञ्चालन केन्द्र स्थापना गरिएको छ भने ९ वटै वडामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन (DRR/CCA) योजना तयार गरिएको छ।

त्यसैगरी, ४५ वटा स्वावलम्बन समूहले बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्दै २०८० फागुनदेखि हालसम्म रु. २२ लाख ७४ हजार ४७४ बचत गरेका छन्। उक्त रकममध्ये रु. १८ लाख ४३ हजार ६६५ कर्जा लगानी गरिएको छ भने रु. ४ लाख ३० हजार ८०९ मौज्दात रहेको छ।

 

परियोजनाको साझेदारीमा ९ वटा सिँचाइ कुलो, ४ वटा पानी सङ्कलन पोखरी तथा ४ वटा ग्याबिन वाल १ पैदल मार्ग निर्माण गरिएको छ। साथै ९० घरधुरीलाई सुधारिएको जुठेल्लो निर्माणका लागि सामग्री सहयोग गरिएको र ६७५ घरधुरीले आफ्नै पहलमा जुठेल्लो व्यवस्थापन गरी प्रयोग गरिरहेको जानकारी प्रस्तुत गरिएको थियो।

२७६ जना स्वावलम्बन समूहका सदस्यले खनिज मिश्रित दाना (खनिज ठिक्का) नियमित रूपमा बाख्रालाई खुवाइरहेका छन्। प्रत्येक वडामा स्थापना गरिएका नमुना कृषि फार्महरूले हालसम्म रु. २ लाख ४४ हजार १४५ आम्दानी गरेका छन् भने ३ वटा क्लस्टरमा स्थापना गरिएका हाइटेक नर्सरीबाट ३ जना कृषकले रु. २ लाख ६५ हजार ३४९ आम्दानी गरेका छन्।

यस्तै, १४३ जना समूह सदस्यले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट रु. ४ लाख ५४ हजार १६५ आम्दानी गरेका छन्। परियोजनाबाट १२० जना सदस्यलाई वितरण गरिएका २२२ वटा बाख्राबाट हालसम्म १८७ वटा पाठापाठी वृद्धि भएको जनाइएको छ, जसले समुदायको जीविकोपार्जनमा सकारात्मक योगदान पुर्‍याएको परियोजनाले जनाएको छ।

परियोजनाको समन्वयमा विपद् प्रभावित ९ घरधुरीलाई राहत वितरण गरिएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

आर्थिक विवरणअनुसार क्रियाकलापतर्फ रु. १ करोड ४९ लाख ११ हजार २६२ बजेट विनियोजन गरिएकोमा रु. १ करोड ४३ लाख ५० हजार २१५ खर्च भएको छ। प्रशासनिकतर्फ रु. ७८ लाख ९४ हजार ८८४ बजेटमध्ये रु. ७४ लाख ४१ हजार १८४ खर्च गरिएको छ। यसरी परियोजनाको कुल रु. २ करोड २८ लाख ६ हजार १४६ बजेटमध्ये रु. २ करोड १७ लाख ९१ हजार ३९९ खर्च भएको सामाजिक लेखा परीक्षणमा जानकारी गराइएको छ।

कार्यक्रमका वक्ताहरूले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा समुदायको आर्थिक सशक्तीकरणमा BREAD परियोजनाले उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS