कमल कोपिला/कमल बिष्ट
२४ असार २०८३, कालिकोट।
आई.एन.एफ. नेपाल कालिकोट शाखाको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालित “खानेपानी, सरसफाइ, स्वच्छता तथा जीविकोपार्जनको माध्यमद्वारा महिला तथा किशोरीहरूको सशक्तीकरण परियोजना” को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आई.एन.एफ. नेपाल कालिकोट शाखाका संयोजक दल बहादुर बुढाको अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष कमल कुमार शाह र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण राना मगरको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्वावलम्बन समूहका सदस्य, नमुना कृषि फार्मका सदस्य तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा परियोजनामार्फत सञ्चालन गरिएका गतिविधि, उपलब्धि, बजेट खर्च, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो। सहभागीहरूले परियोजनाको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता तथा सेवा प्रवाहका विषयमा खुला छलफल गर्दै आवश्यक सुझावसमेत दिएका थिए।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार उक्त परियोजना Australian Aid तथा International Nepal Fellowship Australia (INF Australia) को सहयोगमा नरहरिनाथ गाउँपालिका कुमालगाउँ, कालिकोटमा सञ्चालन भइरहेको छ। परियोजनाले खानेपानी, सरसफाइ, स्वच्छता, जीविकोपार्जन तथा महिला र किशोरीहरूको सशक्तीकरणलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ।

आई.एन.एफ. नेपाल सन् १९५२ मा स्थापना भएको नेपालको सबैभन्दा लामो समयदेखि सेवा गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। संस्थाले कुष्ठरोग, मेरुदण्डमा चोटपटक तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनःस्थापना, सामुदायिक स्वास्थ्य तथा विकास, आमा तथा बाल स्वास्थ्य, पोषण, विपद् व्यवस्थापन, समुदायमा आधारित पुनःस्थापना, मेडिकल आउटरिच सेवा तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका असरबाट समुदायलाई सुरक्षित र उत्थानशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आई.एन.एफ. नेपालले पोखरालाई केन्द्रीय कार्यालय बनाएर पश्चिम नेपालका विभिन्न जिल्लामा स्वास्थ्य तथा विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कालिकोट जिल्लामा भने वि.सं. २०७३ देखि कार्य प्रारम्भ गरी वि.सं. २०७६ बाट औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। जिल्लामा खानेपानी, सरसफाइ, विपद् जोखिम न्यूनीकरण, क्षमता विकास, जीविकोपार्जन, जलवायु अनुकूलन तथा आवश्यकताअनुसार राहत वितरणलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

सामाजिक लेखा परीक्षणको मुख्य उद्देश्य परियोजनाको कार्यसम्पादनको समीक्षा गर्नु, लक्षित वर्गका लागि गरिएका कार्यहरूको उपलब्धि मूल्याङ्कन गर्नु, विनियोजित बजेटको सदुपयोगको समीक्षा गर्नु तथा आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपायहरू पहिचान गर्नु रहेको जानकारी दिइएको थियो। साथै संस्थाले निर्वाह गरेको सामाजिक जिम्मेवारीको मूल्याङ्कन गर्ने, आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न कार्यक्रम तथा खर्च विवरण सार्वजनिक गर्ने, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने, सरोकारवालाबाट सुझाव संकलन गर्ने तथा आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने उद्देश्य पनि रहेको जनाइएको छ।

परियोजनाको मुख्य लक्ष्य कालिकोट जिल्लाका किशोरी तथा महिलाको सशक्तीकरणमा योगदान पुर्‍याउनु रहेको छ। यसअन्तर्गत समुदायमा महिला तथा पछाडि पारिएका वर्गलाई संगठित गर्दै सामूहिक रूपमा आफ्ना समस्या समाधान गर्न सक्षम बनाउने, लैङ्गिक समानता प्रवर्द्धन गर्ने, जलवायुमैत्री कृषि प्रणाली तथा प्रविधिको प्रयोगमार्फत जीविकोपार्जनमा सुधार ल्याउने, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई सुदृढ बनाउने, साथै स्वावलम्बन समूहका सदस्य तथा विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई खानेपानी, सरसफाइ, स्वच्छता र महिनावारी स्वच्छतासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो।


कार्यक्रममा परियोजनाले समुदायमा समावेशी विकास, सामूहिक नेतृत्व, साना समुदायमुखी योजना निर्माण, महिला नेतृत्व विकास, जलवायु अनुकूलन, कृषि प्रवर्द्धन, खानेपानी तथा सरसफाइ सुधार, जीविकोपार्जन अभिवृद्धि र सामाजिक समावेशीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।


साथै नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा मानव अधिकारसम्बन्धी कानुनी व्यवस्थाले सुनिश्चित गरेका नागरिकका अधिकारलाई आधार मानेर परियोजनाले स्थानीय सरकारसँगको सहकार्यमा समुदायको दिगो विकास, मानव अधिकारको संरक्षण, सहभागितामूलक विकास र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथिहरुले, सामाजिक लेखा परीक्षणले परियोजनाको पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता अभिवृद्धि गर्नुका साथै स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्यलाई थप सुदृढ बनाएको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत महिला, किशोरी तथा समुदायको समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS