कमल कोपिला/कमल बिष्ट
१० असार २०८३, कालिकोट।
नरहरिनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६१ करोड ५९ लाख ५९ हजार ७०२ को बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभाबाट प्रस्तुत बजेटमा चालुतर्फ ६० प्रतिशत र पुँजीगततर्फ ४० प्रतिशत खर्च हुने गरी विनियोजन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको सभाध्यक्षता, उपाध्यक्ष कमल कुमार शाहको सभाउपाध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगरको सभा सचिवत्वमा सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक स्रोतबाट रु. १ करोड २१ लाख २४ हजार र बाह्य स्रोतबाट रु. ४५ करोड ४२ लाख २२ हजार आम्दानी हुने लक्ष्य लिएको थियो। २०८३ असार ९ गतेसम्म आन्तरिक आम्दानी लक्ष्यअनुसार शतप्रतिशत हासिल भएको तथा बाह्य आम्दानी करिब ८८.४० प्रतिशत प्राप्त भएको जनाइएको छ। हालसम्म आन्तरिक र बाह्य स्रोत गरी कुल रु. ५० करोड ३७ लाख ९५ हजार आम्दानी भएको छ, जुन लक्ष्यको करिब ९८ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ।

खर्चतर्फ चालु आर्थिक वर्षका लागि विनियोजित रु. ५१ करोड ३७ लाख ९५ हजार बजेटमध्ये असार ९ गतेसम्म चालुतर्फ रु. २७ करोड ७ हजार र पुँजीगत तथा पूर्वाधारतर्फ रु. ४ करोड २ लाख ७० हजार खर्च भई कुल रु. २८ करोड ४२ लाख २६ हजार खर्च भएको छ। यो कुल आम्दानीको करिब ५६ प्रतिशत रहेको जानकारी दिइएको छ।

आगामी आर्थिक वर्षको बजेटले आर्थिक स्रोतको उचित परिचालन, राजस्व वृद्धि, डिजिटल प्रविधिमार्फत सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकास, सीपयुक्त जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा प्रभावकारी अनुगमन र मूल्याङ्कनलाई प्राथमिकतामा राखेको छ। साथै गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासलाई पनि विशेष प्राथमिकता दिइएको छ।

आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष, समपूरक अनुदान तथा राजस्व बाँडफाँड गरी रु. ५० करोड ३५ लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट विभिन्न शीर्षकमा रु. ७ करोड ५६ लाख ७३ हजार ६०२ प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाले आन्तरिक राजस्वबाट रु. ४० लाख तथा गत वर्षको मौज्दात रु. ३ करोड २७ लाख ६ हजार १०० सहित कुल रु. ३ करोड ६७ लाख ६ हजार १०० आन्तरिक स्रोत परिचालन गर्ने लक्ष्य राखेको छ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटले स्थानीय विकास, सेवा प्रवाह सुधार तथा समृद्ध नरहरिनाथ निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS