कमल कोपिला
५ असार २०८३, कालिकोट।
जनचेतना बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति निर्वाचन–२०८३ मा हेमराज संज्याल अध्यक्ष पदमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
निर्वाचन परिणामअनुसार संज्यालले २७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी ध्वजबहादुर शाहीले १६० मत प्राप्त गरेका छन्। मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो।


निर्वाचन अधिकृतका अनुसार क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा कुल ३६३ मतदाता रहेकामा ३४० मत खसेको थियो। खसेका मतमध्ये २ मत बदर भएका थिए।
निर्वाचनबाट हेमराज संज्यालको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति गठन भएको छ। समितिमा लालपुरा धामी थापा, देवनाथ योगी, अरुणकुमार शाही, सागरकुमार शाही, हिम्मत दर्जी, रमेशप्रसाद संज्याल, सत्यदेवी उपाध्याय र अयबहादुर बोगटी सदस्यका रूपमा निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वले क्याम्पसको शैक्षिक स्तर उकास्ने, भौतिक संरचना विस्तार गर्ने तथा संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। निर्वाचन सम्पन्न भएसँगै क्याम्पसमा नयाँ नेतृत्वप्रति उत्साह र आशा बढेको देखिएको छ।









