कमल बिष्ट
कालिकोट । ‘जारी २’ फिल्मलाई हलमा हेर्न पाउनुभएको छैन भने खुसीको खबर छ । नेपाली ओटीटी प्लाटफर्म सिनेमाघरले उक्त फिल्मलाई रिलिज गरेको छ । विश्वभरका दर्शकले उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई उक्त ओटीटी प्लाटफर्ममा हेर्न सक्नेछन् । यो फिल्मले बक्सअफिसमा सुखद कमाइ गरेको थियो । लिम्बु समुदायमा कुनैबेला विद्यमान जारी प्रथाको कथामा फिल्म आधारित छ । हिट फिल्म ‘जारी’को यो दोस्रो श्रृंखला समेत हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतको अभिनय छ ।


दर्शकले गुगल प्ले स्टोर र एप्पलको आइओस स्टोरबाट ‘सिनेमाघर एप’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा फिल्म हेर्न सक्ने जनाइएको छ । एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएस जस्ता स्मार्ट टिभीमा पनि यो एप सहजै डाउनलोड गर्न सकिन्छ । मोबाइलबाट क्रोमकास्टको प्रयोग गरेर वा कम्प्युटरमा सिधै वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा प्लेटफर्मले प्रदान गरेको छ । दर्शकलाई उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्न यो ओटीटीले हालै प्लेटफर्ममा फोर–के स्ट्रिमिङको सुरुवात समेत गरिसकेको छ ।









