कमल कोपिला
३ असार २०८३ कालिकोट । किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सशक्त बालिका परियोजना को सामाजिक लेखापरीक्षण नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ।
परियोजना अधिकृत रमिता बटालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रमको आयोजना किर्डाक नेपाल कालिकोटले गरेको हो भने आर्थिक सहयोग प्लान इन्टरनेशनल नेपाल र समन्वय नरहरिनाथ गाउँपालिकाको रहेको थियो।
किर्डाक नेपाल समाज कल्याण परिषद्मा आबद्ध संस्था हो। साथै, यो सामुदायिक रेडियो प्रसारक संघ नेपाल तथा विश्व सामुदायिक रेडियो प्रसारक संघको सदस्यसमेत रहेको छ। साबिक कर्णाली अञ्चलका पाँच जिल्लाको प्रतिनिधित्व रहने गरी संस्थाको दर्ता जिल्ला प्रशासन कार्यालय जुम्लामा २०५६ साल असार ७ गते भएको थियो। संस्था शिक्षाका लागि राष्ट्रिय अभियान, बालबालिका शान्ति क्षेत्र अभियान, बालअधिकारका लागि साझा अभियानलगायत एक दर्जनभन्दा बढी सञ्जालमा आबद्ध रहेको छ।
न्यायोचित र समृद्ध समाज निर्माणको परिकल्पना बोकेको किर्डाक नेपालले आत्मसम्मानसहितको जीवन परिवर्तनका लागि सम्बन्ध निर्माण गर्ने ध्येय लिएको छ। संस्थाले असमानताको अन्त्य गर्दै समुदायलाई अधिकार प्राप्तिका लागि सशक्त बनाउने तथा सेवा प्रदायक निकायहरूलाई जवाफदेही बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
हाल किर्डाक नेपालका परियोजना तथा कार्यक्रमहरू देशका १७ जिल्लाका ६८ स्थानीय तहमा सञ्चालनमा रहेका छन्। संस्थाले १३ वटा दातृ निकायको सहयोगमा २२ वटा परियोजना तथा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
सशक्त बालिका परियोजनाको मुख्य उद्देश्य बालबालिका, किशोरी, किशोर तथा युवायुवती, विशेषगरी बालिका, किशोरी र युवा महिलाहरूलाई सशक्त बनाउँदै आत्मसम्मानका साथ आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्न सक्ने वातावरण सिर्जना गर्नु रहेको छ। साथै, बालविवाह, छिटो विवाह तथा जबरजस्ती विवाह अन्त्य गर्न परियोजनाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
यो परियोजना कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा सञ्चालनमा रहेको थियो। चालु आर्थिक वर्षसँगै परियोजनाको अवधि समाप्त भएको जनाइएको छ।
सामाजिक लेखापरीक्षण कार्यक्रममा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा परियोजनाको कुल बजेट २ करोड ६४ लाख ३१ हजार ८ सय ४६ रुपैयाँ रहेको थियो। त्यसमध्ये २ करोड ६३ लाख ८९ हजार ५ सय ५५ रुपैयाँ (९९.८४ प्रतिशत) खर्च भएको वित्तीय विवरण प्रेम चौलागाईंले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले परियोजनाको प्रभावकारिता, उपलब्धि तथा आगामी दिनमा अपनाउनुपर्ने उपायबारे सुझाव दिएका थिए। कार्यक्रममा बोल्दै नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले सशक्त बालिका परियोजनाले स्थानीय समुदायलाई धेरै सकारात्मक उपलब्धि दिएको उल्लेख गर्दै परियोजनाबाट प्राप्त उपलब्धिको दिगोपनाका लागि गाउँपालिका सदैव प्रतिबद्ध रहने बताउनुभयो।









