कमल कोपिला
३ असार २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको उद्योग विकास शाखाद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत १० जना उद्यमीलाई मौरीपालनका लागि आवश्यक आधुनिक प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको छ।


नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ मा मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएका १० जनालाई सो कार्यक्रम अन्तर्गत मौरीपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन विभिन्न सामग्री वितरण गरिएको उद्योग विकास शाखा प्रमुख दीपेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो। उहाँका अनुसार, लाभग्राहीहरूलाई १० थान मुडे टोपी, १० जोडी पञ्जा, १० वटा ब्रस, ३० वटा क्विन गेट, १० वटा आधुनिक मौरी घार, २५० ग्रामका ३० थान मैनपाता, २० वटा मौरी झोला तथा ३० वटा रानी पिजडा वितरण गरिएको छ। यस्ता सामग्रीले मौरीपालन व्यवसायलाई आधुनिक तथा व्यावसायिक बनाउन सहयोग पुग्ने शाखा प्रमुख बिष्टले बताउनुभयो।


सो कार्यक्रममा, नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं. ३ का वडाध्यक्ष कटक बहादुर बुढाले गाउँपालिकाको उधोग शाखाले उद्यमशीलता विकास र आयआर्जन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले मौरीपालन ग्रामीण क्षेत्रका लागि सम्भावना बोकेको व्यवसाय भएकाले प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा आम्दानी बढाउन लाभग्राहीहरूलाई आग्रह गर्नुभयो।


सामग्री प्राप्त गरेपछि मौरीपालक उद्यमी धना बटालाले आधुनिक मौरी घार तथा अन्य आवश्यक सामग्री प्राप्त हुँदा व्यवसाय सञ्चालनमा सहजता आउने बताउनुभयो। उहाँले गाउँपालिकाले उपलब्ध गराएको सहयोगले मौरीपालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको प्रतिक्रिया दिनुभयो।


गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रममार्फत स्थानीय उद्यमीहरूको क्षमता अभिवृद्धि, स्वरोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
नरहरिनाथमा मौरीपालन व्यवसायका लागि सामग्री वितरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1









