कमल कोपिला
३ असार २०८३, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत ८० जना व्यवसायीलाई फोहोर व्यवस्थापनसम्बन्धी सामग्री वितरण गरेको छ।

गाउँपालिकाको उद्योग विकास शाखाद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत वडा नं. ३ को मुख्य बजार क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका ८० जना व्यवसायी तथा विभिन्न संघसंस्थालाई फोहोर व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

उद्योग विकास शाखा प्रमुख दीपेन्द्र बहादुर बिष्टका अनुसार, बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन ८० वटा फोहोर संकलन दानी, ८० वटा डस्टबिन तथा ८० वटा प्लास्टिकका साबुनदानी वितरण गरिएको छ। उहाँले यस्ता सामग्रीको प्रयोगले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन र स्वच्छ वातावरण कायम गर्न सहयोग पुग्ने बताउनुभयो।

सामग्री वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले उद्योग विकास शाखाले फोहोर व्यवस्थापन र स्वच्छ वातावरण प्रवर्द्धनका लागि सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले बजार क्षेत्रलाई सफा र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सामग्री प्राप्त गरेपछि व्यवसायी निर्मला बिष्टले गाउँपालिकाबाट प्राप्त सहयोगले व्यवसाय सञ्चालनको वातावरण थप सहज र व्यवस्थित बन्ने बताउनुभयो। स्वच्छ वातावरण कायम हुँदा ग्राहकको आकर्षण बढ्ने र व्यवसाय विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।

गाउँपालिकाले MEDPA कार्यक्रममार्फत स्थानीय उद्यमी तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि, प्रवर्द्धन तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न समस्याको न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS