शिशिर बिष्ट
४ असार २०८३, कालिकोट।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, किर्डाक नेपालको सहजीकरण तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा समुदायका किशोर किशोरी तथा युवाहरूसँग पत्रकारको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिका वडा नं. २ र ३ का किशोर किशोरी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। साथै नरहरिनाथ गाउँपालिकाका कार्यपालिका सदस्य सुनकेशा सहकारी, किर्डाक नेपालका सशक्त बालिका परियोजना अधिकृत रमिता बटाला तथा परियोजना सुपरभाइजर मनिषा बोगटी, नेपाल पत्रकार महासंघ कालिकोट शाखाका वरिष्ठ उपाध्यक्ष कमल बहादुर बुढा र रेडियो सुनथराली कालिकोटका कार्यक्रम सहजकर्ता कमल कुमार बिष्ट लगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा बाल विवाह, छिटो विवाह, जबरजस्ती विवाह, छाउपडी प्रथा लगायत समाजमा विद्यमान विभिन्न रुढीवादी परम्परा तथा सामाजिक कुरीतिका विषयमा गहन छलफल गरिएको थियो। सहभागी किशोर किशोरी तथा युवाहरूले यस्ता सामाजिक समस्याले उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा समग्र विकासमा पार्ने असरबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सामाजिक कुरीति अन्त्य गर्न समुदाय, स्थानीय सरकार, सञ्चारकर्मी तथा युवाहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै किशोर किशोरी तथा युवाहरूलाई आफ्ना अधिकारप्रति सचेत भई समाज रूपान्तरणका अभियानमा सक्रिय भूमिका निर्वाह गर्न सहभागी पत्रकारले आग्रह गरेका थिए।

कार्यक्रमले किशोर किशोरी तथा युवाहरूलाई आफ्ना विचार तथा अनुभव व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै सामाजिक समस्याबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

RELATED POSTS