कमल कोपिला
३ असार २०८३ कालिकोट । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल (NCC) द्वारा सञ्चालन गरिने जुनियर डिभिजन तालिम कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका – ९, लालुस्थित श्री जन प्रभात माध्यमिक विद्यालयमा औपचारिक रूपमा शुभारम्भ भएको छ।
कार्यक्रमको उद्घाटन कालिकोट जिल्लाका गुल्मपति सन्तोष दाहालले गर्नुभएको थियो। उद्घाटन समारोहमा विद्यालय परिवार, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।


वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल (NCC) ले प्रत्येक वर्ष देशभरका विभिन्न विद्यालयहरूमा अनुशासन, नेतृत्व विकास, राष्ट्रप्रेम तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गर्दै आएको छ। यस वर्ष जन प्रभात माध्यमिक विद्यालयबाट ३० जना विद्यार्थी छनोट भई तालिममा सहभागी भएका छन्।
संस्थागत तालिम अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रम १०० दिनसम्म चल्नेछ। तालिम अवधिमा सहभागी विद्यार्थीहरूलाई नेतृत्व विकास, अनुशासन, शारीरिक तन्दुरुस्ती, विपद् व्यवस्थापन, प्राथमिक उपचार, सामाजिक सेवा तथा राष्ट्रिय चेतनासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
कालिकोट जिल्लामा यस वर्ष राष्ट्रिय सेवा दलको तालिम सञ्चालन हुने एकमात्र विद्यालय जन प्रभात माध्यमिक विद्यालय रहेको बताइएको छ। तालिम सञ्चालनका लागि आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने नेपाली सेना, जिल्ला स्थित सम्बन्धित कार्यालयहरू, नरहरिनाथ गाउँपालिका तथा विभिन्न क्षेत्रका सहयोगी संस्थाप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ।
विद्यालय प्रशासनले यस तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।









