कमल कोपिला
कालिकोट, असार २ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा युवाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सकारात्मक सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ३ दिने “युवा रूपान्तरणका लागि सहजीकरण तालिम” सम्पन्न भएको छ ।
फास्टेन एक्सनको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय तथा सहकर्मी समाजद्वारा सञ्चालित सम्मान परियोजनाको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन कार्यक्रम नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो।


उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले युवाहरू समाज परिवर्तनका प्रमुख संवाहक भएकाले उनीहरूको क्षमता विकासमा केन्द्रित यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभएको थियो । उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागी युवाहरूलाई आग्रह गर्नुभएको थियो ।
तालिममा सहकर्मी समाजको सम्मान परियोजनाका संयोजक आकाश तिवारी, स्थलगत परियोजना संयोजक रेखा भट्टराई तथा टिम लिडर विमलराज बि.क.ले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा सहजीकरण सामुदायिक प्रशिक्षक मान बहादुर बि.क.ले गर्नुभएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा नरहरिनाथ गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालयबाट छनोट भएका ९ जना छात्रा र ५ जना छात्र गरी १४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । तालिममा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, जीवन उपयोगी सीप, लैङ्गिक समानता, बालअधिकार तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमको समापनसँगै सहभागी युवाहरूले आगामी दिनमा विभिन्न मिति, समय र स्थानमा समुदायस्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै सामाजिक सञ्जालमार्फत विभेद, लैङ्गिक समानता, बालअधिकार तथा सकारात्मक सामाजिक व्यवहार सम्बन्धी सन्देशहरू प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा योगदान पुर्याउने योजना बनाएका छन् ।
सहकर्मी समाजका अनुसार तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै सहभागी युवाहरू समुदायमा सकारात्मक परिवर्तनका संवाहकका रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ । कार्यक्रमले जिम्मेवार, सचेत र नेतृत्वदायी युवा नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।









