आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। लिग–२ को अंकतालिकामा नेदरल्यान्ड्स २४ खेलबाट १४ जितसहित तेस्रो स्थानमा छ भने नेपाल ११ जितसहित पाँचौँ स्थानमा रहेको छ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखबाट ब्याटिङमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ भने बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी मुख्य हतियार रहनेछन्। यता, घरेलु टोली नेदरल्यान्ड्स म्याक्स ओडाउड, स्कट एडवार्ड्स, बास डी लिडे र काइल क्लेनजस्ता अनुभवी खेलाडीसहित मैदान उत्रिनेछ।










