कमल कोपिला
१५ पौष, कालिकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा कालिकोटकी गंगा खड्का बोगटी पर्नुभएको छ । खस आर्य (महिला) क्लस्टर अन्तर्गत उहाँलाई उम्मेदवार बनाइएको हो ।
२०३८ साल फागुन १३ गते कालिकोटको तत्कालीन मान्म गाविस (हाल खाँडाचक्र नगरपालिका–२, चौर) मा जन्मिनुभएकी खड्का जनमोर्चा कालदेखि नै राजनीतिमा सक्रिय रहनुभएको थियो । माओवादी जनयुद्ध सुरु भएपछि उहाँ वैधानिक रूपमा पार्टीमा आबद्ध हुनुभयो ।

खड्का, २०५४ सालमा अखिल नेपाल महिला संगठन मान्म गाउँ कमिटी अध्यक्ष, जनसुरक्षा दल कमाण्डर, पूर्णकालीन सांस्कृतिक कर्मी तथा कालिकोट, जुम्ला र मुगु जिल्लामा पार्टी जिम्मेवारी सम्हाल्दै जनमिलिसिया कमाण्डरसम्म रहनुभयो । पार्टी ए.सी.एम, अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला अध्यक्ष हुँदै उपक्षेत्रीय, क्षेत्रीय र प्रदेश समिति सदस्यका रूपमा काम गर्नुभएकी उहाँ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो ।
राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किनुभएकी खड्काले जनयुद्धका क्रममा कान्छा ससुरा भद्रबहादुर बोगटी र देवर निर्मराज बोगटीलाई गुमाउनुभयो भने श्रीमान सरोज बोगटीसहित परिवारका सदस्य घाइते हुनुभयो । श्रीमानको खुट्टामा अझै युद्धका गोलीका टुक्रा छन् ।
युद्धका गहिरा पीडाबीच पनि राजनीतिमा सक्रिय खड्का भन्नुहुन्छ, “राजनीतिलाई मैले समाजसेवाको रूपमा लिएको छु । बाँचुन्जेल आफ्नै देशमा गरिब र पीडितका आँसु पुछ्न चाहन्छु ।”


