कमल कोपिला
१ चैत्र २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ३ मा बालविवाह न्यूनीकरण, विभिन्न कुप्रथा तथा कुसंस्कारको अन्त्य, स्वास्थ्य र सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले १ दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।
किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित “सशक्त बालिका परियोजना” अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय समुदाय, अभिभावक, किशोर-किशोरी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कटक बहादुर बुढा ले गर्नुभएको थियो भने कार्यक्रममा परियोजना अधिकृत हिमाल आचार्य, किर्डाक नेपालका कर्मचारी, स्थानीय पत्रकार, किशोर-किशोरी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विशेषगरी बालविवाह, छाउपडी प्रथा, लैङ्गिक विभेद, कुसंस्कार तथा समाजमा विद्यमान अन्य हानिकारक प्रथाहरूको न्यूनीकरणका लागि सरकार, स्थानीय तह, सामाजिक संस्था र सञ्चारकर्मीहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा खुला छलफल गरेका थिए। सहभागी अभिभावक तथा किशोर-किशोरीहरूले आफ्नो समुदायमा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावनाबारे प्रश्न तथा सुझाव राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कटक बहादुर बुढाले बालविवाह तथा अन्य कुप्रथाहरूको अन्त्यका लागि स्थानीय सरकारले विभिन्न पहलहरू गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता सामाजिक विकृति अन्त्य गर्न समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताउँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, परियोजना अधिकृत हिमाल आचार्यले सशक्त बालिका परियोजनामार्फत किशोरीहरूको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य तथा आत्मविश्वास अभिवृद्धिमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले बालविवाह तथा विभेद अन्त्य गर्न अभिभावक, शिक्षक, स्थानीय सरकार र समुदाय सबै मिलेर सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाले पनि आफ्नो धारणा राख्दै बालविवाहले शिक्षा, स्वास्थ्य तथा भविष्यमा पार्ने नकारात्मक असरबारे चर्चा गरेका थिए। उनीहरूले पढाइ, सीप र अवसरका माध्यमबाट सशक्त बनाइए मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताएका थिए।
कार्यक्रमका सहभागीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले समुदायमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । सशक्त बालिका परियोजनाले बालअधिकार संरक्षण, लैङ्गिक समानता प्रवर्द्धन तथा बालविवाह न्यूनीकरणका लागि विभिन्न समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ।


