कमल कोपिला
२३ फाल्गुन २०८२ कालिकोट । वि.सं. २०३३ माघ १५ गते कालिकोटको पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस-८) मा मध्यम वर्गीय परिवारमा जन्मिएका महेन्द्रबहादुर शाही यसअघि संविधान सभा सदस्य भएका थिए। उर्जामन्त्री समेत बनेका शाही पछि कर्णालीको मुख्यमन्त्री पनि बनेका थिए।
उनले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) को सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। पार्टी सदस्यता लिएपछि अर्धभूमिगत रुपमा सैन्य तालिममा सहभागी भएका थिए।

त्यसपछि २०५२ सालबाटै तत्कालीन माओवादीले सुरु गरेको विद्रोहमा होमिए। उनले माओवादी विद्रोहमा पार्टी संगठन र छापामार भएर समानान्तर भूमिका निर्वाह गरेका थिए।
कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै पार्टी र सेनामा समानान्तर भूमिका गरेका शाहीले कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरेका थिए। सुरुमा वार्ड कमाण्डर भएका उनी स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सेना समायोजनका बेला उनले राजनीतिक मोर्चालाई रोजेका थिए।
सेना समायोजनपछि मूलधारको राजनीतिमा आएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए। जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधान सभाको दोस्रो निर्वाचनमा पनि उनी विजयी भए।
२०७० सालमा भएको दोस्रो संविधान सभामा निर्वाचित भएका उनी उर्जामन्त्री बनेका थिए। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा ८३ दिन उर्जामन्त्री भएका थिए।
यस्तै, २०७४ सालमा भएको आम निर्वाचनबाट कालीकोट निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट कर्णाली प्रदेश सभा सदस्य निर्वाचि भएका थिए। त्यसपछि २०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए। उनले २०७८ सम्म मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कालिकोटबाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए। त्यतिवेला एमालेकै नगिन्द्र शाहीलाई पराजित गरेका थिए। अहिले फेरि उनैलाई पराजित गर्दै प्रतिनिधि सभाको सदस्य बनेका छन्। उनले ११,३३८ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नगिन्द्र शाहीले भने १०,३५२ मत प्राप्त गरेका छन।


