कमल कोपिला
२४ माघ २०८२ कालिकोट ।
आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत विद्यालय केन्द्रित पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठक तथा एचपीभी खोप कार्यक्रम सञ्चालनसम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरूका लागि अभिमुखीकरण तथा बहस पैरवी कार्यक्रम आज कालिकोटको मान्ममा सफलतापूर्वक सम्पन्न भएको छ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धन्जित शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहजकर्ताहरूले राष्ट्रिय खोप कार्यक्रमको परिचय तथा हालको अवस्था, एचपीभी खोप कार्यक्रमको प्रगति समीक्षा, सञ्चालन हुन लागेको एचपीभी खोपको सूक्ष्म योजना तथा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणतर्फ लैजान आवश्यक कार्ययोजना सम्बन्धी विभिन्न प्रस्तुतीकरण गरेका थिए।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अनुसार कालिकोट जिल्लामा एचपीभी खोपको लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी, साथै गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीहरू गरी जम्मा १ हजार ८ सय १३ जनालाई खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ।

उक्त खोप कार्यक्रम अन्तर्गत जिल्लाभर १ सय ३२ वटा खोप केन्द्रबाट सेवा प्रदान गरिनेछ। फागुन ४ र ५ गते पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नेत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकामा खोप सेवा सञ्चालन हुनेछ भने फागुन ८ र ९ गते तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले एचपीभी खोप कार्यक्रमको शतप्रतिशत लक्ष्य हासिल गर्न आ-आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला खोप समन्वय समितिले लक्षित सबै किशोरीहरूलाई अनिवार्य रूपमा खोप सेवामा सहभागी गराउन सबै अभिभावक, विद्यालय, सञ्चारकर्मी तथा स्थानीय तहलाई सहयोगका लागि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS