नवीन बिश्वकर्मा
जेठ १३, कालिकोट | जुम्ला जिल्लाको सिँजा गाउँपालिका वडा नं. १,२ र ३ मा स्वच्छता आनीबानी परिवर्तन एवम स्वस्थ्य घरको प्रवर्द्धन गर्न स्वच्छताका सुचक पुरा गरेका १८१ घरधुरीलाई पुर्ण सरसफाई घर घोषणा गरिएको छ।
प्रारम्भिक बालबिकासका लागी बिपद जोखिममुक्त सहितको पुर्ण सरसफाई स्वच्छता घर घोषणाको लागी सिँजा गाउँपालिकाको समन्वयमा, पेस नेपाल जुम्ला र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित खानेपानी सरसफाई स्वच्छता तथा उत्थानशिल परियोजना मार्फत सिँजा गाउँपालिकाको वडा नंं.१ देखि ३ सम्मका आमा समुहमा पुर्ण सरसफाई स्वच्छताका सुचकहरुको बिगत ३ महिना देखि अभिमुखिकण गरिदै आएको थियो ।
बिहिवार एक औपचारिक कार्यक्रमका बिच पुर्ण सरसफाईका सुचक पुरा गरेका घरमुलिलाई स्वच्छता आनिबानी परिवर्तनका सुचकको अभिमुखिकरणपछि सो समुदायका १८१ घरलाई स-सम्मान सहित पुर्ण सरसफाई घर घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्नुहुदै सिँजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले सिँगो गाउँपालिकालाई पुर्ण सरसफाई घोषणा गर्ने लक्ष्य रहेको र पुरा गर्न स्थानिय, गैर सरकारी संस्था पेस नेपालले पुर्ण सरसफाई अभियानमा सहयोग गरि समुदायलाई स्वच्छताका सुचक पुरा गर्न महत्वपुर्ण सुझाव दिने काम संस्थाले गरेर पुर्णसरसफाई घर घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। साथै गाउँपालिकालाई नै पुर्ण सरसफाइ घोषणा गर्न उक्त अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो भने उक्त महत्वपुर्ण कार्यमा सहयोग गर्ने संस्था, स्वास्थ्यकर्मि तथा महिला स्वास्थ्य स्वयमसेविकालाई धन्यवाद दिनुभयो।
पुर्ण सरसफाई घर घोषणा पश्चात् खुशी व्यक्त गर्नुहुदै सिँजा गाउँपालिका वडा नं २ कि शर्मिला खत्री बताउनुहुन्छ,”मलाई सरसफाईका सुचकबारे जानकारी थिएन। अहिले मैले स्वास्थ स्वयमसेविकाबाट ज्ञान प्राप्त गरेर आफ्नो घरमा सरसफाई सुचक पुरा गरेकी छु। सुचकमा शौचालयको सरसफाई, हात धुने ठाउँ, भाडाँकुडा धुने र सुकाउने ठाउँ, भान्छाकोठाको सरसफाई तथा धुवाँ नियन्त्रण, घरमा फिल्टरको पानीमात्रै खानमा प्रयोग र व्यक्तिगत सरसफाईमा ध्यान दिएकी छु । साथै बालबालिकाको वृद्धी विकासका लागी यसले महत्वपुर्ण भुमिका खेलेको छ ।”
साथै उक्त कार्यक्रममा बोल्नुहुदै पेस नेपालका परियोजना अधिकृत शंकर प्रसाद उपाध्यायले प्रारम्भिक उमेर चरणमा भएका बालबालिकाहरुको सर्वाङ्गिण बिकासका लागी घर पुर्ण सरसफाई हुन अति आवश्यक रहेको बताउनुभयो। बच्चाको वृद्धि र बिकासमा सरसफाइले ठुलो प्रभाव पार्ने भएकाले आफ्नो संस्थाले उक्त कार्यक्रम लागु गरेको प्रस्ट पार्नुभयो। साथै उक्त कार्यक्रमलाई सफल पार्न ठुलो चुनौती रहेको र त्यसका बावजुत पनि पुर्ण सरसफाइ घर घोषणाको काममा जुट्ने सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो। भने सिँजा गाउँपालिका स्वास्थ्य संयोजक ललितजंङ्ग रोकायाले गाउँपालिकाको पुर्ण सरसफाई अभियानको सुरुवाती चरण भएकाले अब गाउँपालिकालाई पुर्ण सरसफाई घोषणा गर्ने लक्ष्य लिएको बताउनुभयो।
स्वच्छता आनिबानी परिवर्तन एवम स्वस्थ्य घरको प्रवर्द्धन तथा अनुगमन कार्यविधि अनुसार पुर्ण सरसफाईका सुचकहरु पुरा गरिएका घरधुरीहरुलाई पुर्ण सरसफाइ घर घोषणा गरिएका हुन । हाल सो परियोजना सिँजा गाउँपालिकाको तिन वटा वडामा मात्र संचालित छ । गाउँपालिकालाई पुर्ण सरसफाई घोषणा गर्न स्थानीय सरकारले गैसस पेस नेपाल सँग सहकार्य गरि काम गर्ने योजना बनाएको छ ।