कमल कोपिला
२६ माघ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकासँग साझेदारी गर्दै आईएनएफ कालिकोट शाखाले गाउँपालिकाभर सञ्चालन गरिएका विकास तथा सशक्तीकरण कार्यक्रमहरूको संयुक्त अनुगमन आइतबार सम्पन्न गरेको छ।

अनुगमन टोलीमा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, आईएनएफका कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा स्वावलम्बन समूहका सदस्यहरू उत्पादनमा केन्द्रित हुँदै आत्मनिर्भर बन्दै गएको पाइएको छ। समूहमा महिला, पुरुष तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक र समावेशी सहभागिता रहेको छ। सदस्यहरूले करेसाबारीमार्फत विभिन्न तरकारी उत्पादन गरी आफ्नै उपभोगसँगै बिक्रीसमेत गर्न थालेका छन्।


आपतकालीन अन्न तथा आर्थिक कोष स्थापना गर्नुका साथै सहकारी गठन गरेर दीगो आर्थिक संरचना निर्माणतर्फ समुदाय अघि बढेको देखिएको छ।


आईएनएफको सहयोगमा धारो निर्माण, गोठ सुधार, जैविक विषादी प्रयोग, सिँचाइ कुलो, तटबन्धन, पोलिहाउस, नर्सरी स्थापना, वृक्षरोपणलगायतका कार्यक्रमहरू व्यापक रूपमा कार्यान्वयन भएको अनुगमन टोलीले जनाएको छ। पहिले तरकारी नदेखेका समुदाय अहिले उत्पादन गरी आफू खाने र बजारमा बेच्ने अवस्थामा पुगेका छन्।

समूहमा आबद्ध महिलाहरू पहिला बोल्नसमेत हिच्किचाउने अवस्था रहेकामा अहिले निर्धक्क रूपमा आफ्ना कुरा राख्न सक्ने र नेतृत्वदायी भूमिकामा देखिन थालेका छन्।

अनुगमनको क्रममा गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले आईएनएफसँगको साझेदारीले नरहरिनाथका समुदायमा आत्मनिर्भरता, आत्मविश्वास र सामूहिक जिम्मेवारीको भावना विकास भएको बताए। उनले भने, “परियोजना सकिएपछि पनि समुदाय आफैंले निरन्तरता दिने आत्मविश्वास देखिनु सबैभन्दा ठूलो उपलब्धि हो।”

सामूहिक बचत, फोहोर व्यवस्थापनलगायतका कार्यहरू कार्ययोजनाअनुसार अघि बढिरहेको भन्दै उनले यस्ता कार्यक्रमले दीगो विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे।


