कमल कोपिला
८ वैशाख, २०८२ कालिकोट । सोमबार बिहान ४ बजेदेखि सुत्केरी व्यथाले छटपटाएकी नरहरिनाथ गाउँपालिका वडा नं ७ गुब्लागडा मालकोटकी घुमिसरा बुढा शाहीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
३० वर्षीया घुमिसरालाई दोस्रो सन्तान जन्माउने क्रममा अत्यधिक व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकी मालकोटबाट सम्भव उपचार हुन नसक्ने अवस्था आएको थियो। स्वास्थ्य चौकी मालकोटका इञ्चार्ज अमर बहादुर बटालाले अवस्थालाई “गम्भीर र जटिल” बताउँदै तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक रहेको जानकारी दिनुभएको थियो।

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको विशेष पहलमा उद्धार प्रक्रिया अगाडि बढाइएको हो। अध्यक्ष बिष्टले, आफै जिल्ला प्रशासन कार्यालय पुगेर, घुमिसराको जीवन र गर्भमा रहेको शिशुको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गराउन सफल हुनुभएको हो। घुमिसराको उद्धार पश्चात् उनलाई थप उपचारका लागि सुर्खेतस्थित अस्पतालमा पठाइएको छ। हाल उनको स्वास्थ्य अवस्था जटिल रहेको बताईएको छ।
दुरदराज र भौगोलिक विकटताका कारण यस्तो प्रकारको सुत्केरी सम्बन्धी जटिल समस्या नरहरिनाथ गाउँपालिकाका दुर्गम वस्तीहरूमा बारम्बार देखिएको खण्डमा स्थानीय सरकारले बिशेष पहल गर्दै आवश्यक उद्दार गर्ने गरेको छ। स्थानीयबासीले यस्तो अवस्थामा शीघ्र उद्धार र सरकारी संयन्त्रको सक्रियतामा नेपाली सेना,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट लाई धन्यवाद व्यक्त गरेका छन्।